नेपाली कांग्रेसले आज दोस्रो चरणको देशव्यापी प्रदर्शन गर्दै
काठमाडौं । आज (शनिबार) नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिदैँछ ।
पार्टीको केन्द्रीय कार्यसमितिको पुस १९ गते बसेको बैठकको निर्णयअनुसार कांग्रेसले आज देशभर प्रदर्शन गर्न लागेको हो ।
सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध प्रदर्शन गर्न लागेको जनाएको छ । आज देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसको ठहर छ ।
देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरुले आफूलाई पायक पर्ने ठाउँमा सम्बोधन गर्ने छन् ।