नेकपा स्थायी कमिटी बैठक आज बस्दै
बामदेवलाई अध्यक्ष बन्न ओलीको प्रस्ताव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकअघि अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि उनले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।
ओलीले गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेपछि उनी शुक्रबार पेरिसडाँडामा भएको दाहाल-नेपालको गुटगत भेलामा समेत सहभागी भएनन् ।
शनिबार खुमलटारमा भएको ओली-दाहाल भेटवार्तामा पुगेका गौतम दाहाल-नेपालको भेटवार्तालाई खास महत्व नदिइ हिडेपछि उनी ओली गुटमा पुगेको आकलन गरिएको छ ।
तथापि गौतमले बैठकमा प्रस्तावकै रूपमा लगेर आफूलाई जिम्मेवारी दिइए अध्यक्षको भूमिका निर्वाह गर्न सक्ने संकेत दिएको स्रोतको दाबी छ । तर, एमालेको महाधिवेशनदेखि नै पटक-पटक ओलीले धोका दिएकाले के गर्ने भनेर गौतमले अन्तिम निर्णय दिनअघि निकटस्थहरूसँग परामर्श गरिरहेको स्रोतले जनाएको छ ।
गौतमलाई अध्यक्ष बनाएर जान सके आफू कार्यकारी भूमिकामा नरहे पनि उनीमार्फत आफू अनुकुलको निर्णय गराउन सक्ने ठम्याई ओलीको छ ।
गौतम आफ्नो साथमा रहे सचिवालयमै आफ्नो बहुमत पुग्ने ठानेका ओलीले स्थायी कमिटी बैठकमा दाहाल-नेपाल समूहको प्रतिवाद गर्दै सचिवालय बैठकमै फर्केर आफ्नो अनुकुलको निर्णय गर्ने तयारीसमेत गरेको स्रोतको दाबी छ ।
तर दाहाल-नेपाल समूले भने पुस १ को स्थायी कमिटी बैठकअघिको समझदारी कार्यान्वयन नभएको भन्दै ओलीलाई बहुमतबाट निर्णय गर्ने तयारी गरेका छन् ।
पुस १ को स्थायी कमिटी बैठकअघि संवैधानिक परिषद सम्बन्धी नयाँ अध्यादेश ल्याएर ओलीले पार्टीलाई चुनौती दिएको भन्दै दाहाल-नेपाल समूहले संसदको विशेष अधिवेशन डाक्न राष्ट्रपतिलाई दबाब दिन खोजेको थियो ।
पुस १ कै स्थायी कमिटी बैठक सुरू नभएपछि ८३ सांसदको हस्ताक्षर लिएर समावेदन दर्ता गराउन नेता भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगेपछि ओलीले अध्यादेश फिर्ता लिने र विशेष अधिवेशन पनि नडाक्ने सहमति भएको थियो । तर, ओलीले अध्यादेश फिर्ता लिनको साटो राजनीतिक भेटवार्ता तीब्र पारेर थप केही निर्णय लिन खोजेको भन्दै दाहाल-नेपाल समूह शसंकित छ ।
ओलीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका थिए ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेपछि मंसिर १३ को बैठकमा ओलीले जवाफि प्रस्ताव पेस गरेका थिए । दुई पक्षबीचको विवाद दस्तावेजकै रूपमा प्रवेश गरेपछि नेकपाभित्र संकट गहिरिएको छ ।