भारतमा बर्डफ्लू फैलिएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन कृषि मन्त्रालयले आग्रह
काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयले भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयको मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइए छ ।
नेपालमा भारतको हिमाञ्चल प्रदेशबाट बर्डफ्लू भित्रने सम्भावना उच्च रहेको भन्दै सङ्क्रमणलाई ध्यानमा राख्दै केही समय हिमाञ्चलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे जानकारी दिए ।
उनका अनुसार सीमा नाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउँन समेत आग्रह गरेको छ ।
खुला सीमानाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेको छ, बर्डफ्लू नियन्त्रण आदेशको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई सम्पर्कमा बस्न आग्रह गरिएको हो”, उनले भने, “लुकाएर ल्याइएका कुखुरा नष्ट गर्ने, कुखुरा ल्याउनेलाई कारवाहीको सम्पूर्ण अधिकारी जिल्लाका प्रमुखलाई रहन्छ ।”
मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्वारेन्टिन कार्यालय छन् । देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए कृषकलाई तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न मन्त्रालयलेआग्रह गरेको छ ।
भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लू पुष्टि भएको बताइएको छ ।