संवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने घोषणा
काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा, मुक्ति प्रधान र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाएपछि उनले इजलासमा नबस्ने घोषणा गरेका हुन्।
थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागिता र निस्पक्षतामाथि प्रश्न उठाएका थिए ।
वरिष्ठ अधिवक्ताहरुको प्रश्नपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका थिए ।
सुनुवाइमा अर्का वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले अदालतले जनताको विश्वसनीयता टिकाइराख्नु पर्ने बताएका थिए ।