३ मंसिर २०८१, सोमबार

सिन्धुपाल्चोकका जोखिमका बस्ती स्थानान्तरण गर्न विज्ञको सिफारिश



FILE PHOTO

सिन्धुपाल्चोक । विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायत उच्च जोखिममा रहेका भन्दै दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ ।

गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो ।

अध्ययन गरिएका बस्तीमध्ये दुई बस्ती उच्च जोखिममा रहेको टोलीमा प्राधिकरणका तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन एकाइ(भवन)का प्रमुख सन्तोष निरौलाले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

टोलीले जुगलका लिदी, बोल्दे, ठूलो नाम्फा, सानो नाम्फा र सञ्चगाउँको अध्ययन गरेको थियो । बाढीपहिराले वर्षामा सिन्धुपाल्चोकमा ठूलो जनधन क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

गत असारयता जिल्लाका विपद्का घटनामा ७३ ले ज्यान गुमाएका थिए भने ३९ जना अझै बेपत्ता छन् ।



प्रतिक्रिया दिनुहोस !