२७ बैशाख २०८१, बिहीबार

गैँडाको पोस्टमार्टम रिपोर्टका अनुसार करेन्ट लगाएर मारिएको पुष्टि



भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१६ स्थित मंसिर २७ गते मृत अवस्थामा फेला परेको गैँडा कालगतिले मरेको नभई मारिएको खुलासा भएको छ ।

डिभिजन वन कार्यालय चितवनले पोस्टमार्टम रिपोर्टका अनुसार भरतपुर–१६, विजयनगरको सिद्धिगणेश सामुदायिक वन नजिक मृत अवस्थामा फेला परेको गैँडा मरेको नभई मारिएको देखिएको जनाएको छ । गैँडाको खाग, खुरलगायतका सबै अङ्ग भने सुरक्षित रहेको वन कार्यालयको भनाइ छ ।

गैँडा अन्य कारणले मरेको देखिएन, पोस्टमार्टम रिपोर्टमा करेन्ट लगाएर मारिएको पुष्टि भएको छ । बारीको बीचमा करेन्ट लागेर गैँडा मरेको पुष्टि भएपछि अज्ञात समूहले गैँडा मारेको भन्ने प्रस्ट हुन्छ । विजयनगरको सिद्धिगणेश सामुदायिक वनको ५ सय मिटरनजिक पूर्वतर्फ तोरीबारीको बीचमा रहेको जईघाँसमा अन्दाजी १६ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको थियो ।

डिभिजन वन कार्यालयले सहायक वन अधिकृत शान्तिकुमारी शर्मालाई घटनाको अनुसन्धान गर्न खटाएको छ । स्थानीयका अनुसार सो क्षेत्रमा रहेका सामुदायिक वनहरुबाट बस्तीमा गैँडा यसअघि पनि राति, बिहान ओहोरदोहोर गरिरहेका भेटिन्थे ।

भरतपुर–१५, १६ मा रहेको सामुदायिक वनहरुबाट बस्तीमा प्रशस्त बन्यजन्तु आइरहन्छन् । बन्यजन्तुबाट बाली जोगाउन करेन्ट प्रवाह हुने तार राखिएको र त्यही तारमा गैँडा परेर मरेको हुन सक्छ, यसैमा केन्द्रित भएर अनुसन्धान अघि बढिरहेको छ ।

सो क्षेत्रमा गैँडा देखिने र गैँडा बस्तीमा पनि आइरहने कारणले आर्मीको पोस्ट पनि राखिएको छ । डिभिजन वन कार्यालयको पोस्ट पनि छ, तर पनि गैँडा मारिने क्रम बढेको छ । तीन वर्षअघि पनि सोही क्षेत्रमा करेन्ट लागेर नै गैँडा मरेको डिभिजन वनले जनाएको छ ।

गैँडा मरेको क्षेत्र डिभिजन वन कार्यालय भरतपुरको भएको हुनाले अनुसन्धान पनि वनले नै गरेको छ । स्थानीय, जग्गाधनीदेखि जग्गा भाडामा लगाउने मानिसहरुलाई सोधपुछका साथै प्रमाण जुटाउन थालिएको छ । कोही दोषी ठहर भए निकुञ्ज ऐनअनुसार कारबाही हुनेछ ।



प्रतिक्रिया दिनुहोस !