२० बैशाख २०८१, बिहीबार

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा  सामान्य गिरावट भएको छ ।

मौद्रिक नीति समीक्षापछि लगातार घटिरहेको बजारमा मंगलबार ६५ प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो । तर, नेप्सेको उक्त वृद्धि एक दिनबाट दोस्रो दिनसम्म टिक्न सकेन ।

यद्यपि, बजारमा उतारचढाव देखिए पनि ४.२३ अंकको सामान्य गिरावट हुँदा २४१४.६२ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि आज कारोबार रकम भने बढेर करिब चार अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा बैंकिङ, होटेल तथा पर्यटन, अन्य, लघुवित्त र जीवन बिमा उपसूचकमा  गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी निर्जीवन बिमा, हाइड्रोपावरलगायत उपसूचक बढेका छन् ।

आज नेप्सेमा महालक्ष्मी विकास बैंकको १६ करोड ५९ लाख, नेसनल हाइड्रोपावरको  १५ करोड ८५ लाख र अपी पावरको १८ करोड ८९ लाखको सेयर कारोबार भएको छ । आज नेप्सेमा १८९ कम्पनीको सेयर किनबेच भएकोमा ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबार भएका मध्ये सामलिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले वृद्धि हुँदा दिव्यश्वरी हाइड्रोपावरको ७.७८ प्रतिशत र आँखुखोला जलविद्युत् कम्पनीको  ७.७४ प्रतिशतले बढेको छ ।

नयाँ सारथी लघुवित्तको सेयर मूल्य ५.३४ प्रतिशतले वृद्धि हुँदा जानकी फाइनान्सको भने ३.७७ प्रतिशतले घटेको छ ।

 



प्रतिक्रिया दिनुहोस !