३ मंसिर २०८१, सोमबार

पुलिस प्रशासन आफै लापरवाही



विराटनगर । जिल्ला कारागार मोरङका कैदी नारायण खड्काको २५ कात्तिक २०७८ मा मृत्यु भयो । बलात्कार मुद्दामा ६ वर्षदेखि कैद भुक्तान गरिरहेका उनी अघिल्लो दिनसम्म ठीकठाक अवस्थामा थिए । ६ वर्षसम्म उनी एक दिन पनि अस्पताल गएका थिएनन् । कात्तिक २५ गते मध्यरातमा बिरामी परे भनियो, सोही रात कोशी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरे ।

२०७८ भदौ तेस्रो सातायता गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर आउन दिने र नदिने समूहबीच कारागारभित्र विवाद थियो । खड्का ल्याउन नदिने ग्रुपमा थिए । मृत्युअघि कारागारभित्र उनीमाथि कुटपिट भएको हल्ला कैदी बन्दीले सुनेका थिए । तर, उनको मृत्युपछि न घटनाको छानबीन भयो न शवको पोस्ट–मार्टम नै । आफन्त आएर शव बुझेर लगे । मामिला सामसुम भयो ।

४ मंसीर २०७८ मा ६३ वर्षीय गोपाल शर्माको मोरङ कारागारमै मृत्यु भयो । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–१० का शर्माको मृत्यु कारागार प्रशासनको लापरबाहीले भएको आफन्तले गुनासो गरे ।

तर, यो गुनासो माथि न कहीं छानबीन भयो न उजुरी दर्ता नै । यतिसम्म कि उनको शवको पोस्ट–मार्टम समेत भएन । मृतक शर्माका आफन्त गोपाल ढकाल भन्छन्, ‘जे हुनु भइगयो । फेरि पोस्ट–मार्टमका लागि मृतककी श्रीमतीले पनि मान्नुभएन । मान्छे वितेर गइहाले किन शरीर चिर्नु भनेर नमानेपछि अन्त्येष्टि गर्‍यौं ।’

३० साउन २०७८ मा लागूऔषध मुद्दाका कैदी धरान उपमहानगरपालिका–८ का ३० वर्षीय सुवास लिम्बूको पनि मोरङ कारागारभित्र मृत्यु भयो । उनको मृत्यु के कारणले भयो भनेर उजुरी पनि परेन र छानबीन पनि भएन । त्यसपछि उनको पनि पोस्ट–मार्टम समेत नगरी आफन्तले शव बुझेर लगे ।

त्यसैगरी १ भदौ २०७८ मा मोरङको रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङ, १० भदौमा सुनसरी रामधुनी नगरपालिका–२ का २० वर्षीय सोम परियार, २४ भदौमा पथरी शनिश्चरे नगरपालिका–१० का ६० वर्षीय भीमलाल सुब्बा र २८ भदौमा सप्तरीको शम्भुनाथ गाउँपालिका–१२ का महम्मद युसुफको मृत्यु भएको थियो । उनीहरूको मृत्युको कारण के थियो भन्ने अहिले कारागार प्रशासनसँग जवाफ छैन । किनकि ती घटनामा पोस्ट–मार्टम गरिएको छैन ।

२०७७ सालमा पनि मोरङ कारागारमा ११ जना कैदी बन्दीको मृत्यु भएको थियो । १५ साउन २०७७ मा मोरङ केराबारी गाउँपालिका–४ का रमेश मगर, १९ साउनमा विराटनगर महानगरपालिका–१६ का विद्यानन्द मण्डल, १० भदौमा विराटनगर महानगरपालिका–४ का निराजन यादव, १३ भदौमा सुन्दरहरैंचा नगरपालिका–५ का सुवर्णसिंह तामाङको मृत्यु भएको थियो ।

यसैगरी १४ असोजमा अशोक राई, २३ असोजमा दीपेश महरा, २९ असोजमा शिवहाङ राई, १३ कात्तिकमा केवल कार्की, १८ कात्तिकमा सुमन दनुवार, ३० कात्तिकमा ऋषिराम भट्टराई, ६ मंसीरमा महम्मद अस्लम मियाँको मृत्यु भएको थियो । २०७७ साल साउन महीना अघि कारागारमा कैदी बन्दीको मृत्यु भए पनि त्यसको विवरण कारागार प्रशासनसँग छैन ।

यसरी जिल्ला कारागार मोरङले दिएको जानकारी अनुसार पछिल्लो १६ महीनामा मोरङ कारागारमा मात्रै १८ जना कैदी बन्दीको मृत्यु भएको छ । राज्यको चार पर्खालभित्र नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु सम्बन्धमा सार्वजनिक रूपमा प्रश्न नउठ्नु आश्चर्यको विषय भएको छ । त्यति मात्रै होइन अपारदर्शी ती घटनामा भविष्यमा पनि प्रश्न उठ्ने ठाउँ रहेन । किनकि ती कुनै पनि घटनामा पोस्ट–मार्टम गरिएको छैन ।

पछिल्लो १६ महीनामा ज्यान गुमाउने १८ मध्ये अधिकांशको कोशी अस्पताल पुर्‍याएपछि मृत्यु भएको छ । कोशी अस्पतालका फिजिसियन डाक्टर लक्ष्मीनारायण यादवका अनुसार कारागारबाट आउने बिरामीहरू केही इमर्जेन्सीमा र केही ओपीडीमा आउँछन् । ओपीडीमा आउनेहरू सामान्य अवस्थाकै हुन्छन् । इमर्जेन्सीमा आउनेहरू अलिक गाह्रो भएकाहरू हुन्छन् । डा. यादव भन्छन्, ‘हामी सबैको सकेसम्म उपचार गर्छौं ।’

जिल्ला कारागार मोरङ प्रशासनका अनुसार दिनहुँजसो ५–७ जना कैदी बन्दीलाई उपचारका लागि अस्पताल पठाउनुपर्छ । यसरी उपचार गर्दा सरकारी अस्पतालको उपचार खर्च राज्यले तिर्छ । निजी अस्पतालमा उपचार गर्दा कैदी बन्दीका आफन्तले व्यहोर्नुपर्छ ।

जेलभित्रको कालगतिले हुने मृत्यु होस् वा शंकास्पद घटना कुनैमा पनि पोस्ट–मार्टम हुँदैन । कतिसम्म हेलचेक्र्याइँ छ भने जिल्ला कारागार मोरङका नायव सुब्बा रामप्रसाद पोखरेल आफू आएपछि मृत्युको रेकर्ड राख्न थालेको बताउँछन् । पोस्ट–मार्टम गर्नु झन्झटिलो प्रक्रिया हुने भएकाले मृतकका आफन्तले नरुचाउने पोखरेलको भनाइ छ ।

उनका भनाइमा कारागारमा मृत्यु भएकाहरूको अनिवार्य रूपमा पोस्ट–मार्टम गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छैन । आफन्तलाई शंका लागे प्रहरीमा निवेदन दिएर पोस्ट–मार्टम गर्न सकिने भए पनि मोरङमा मृत्यु भएका कैदी बन्दीका परिवारले अहिलेसम्म यतातर्फ चासो नदिएको उनको भनाइ छ ।

पोस्ट–मार्टम कुनै व्यक्तिको मृत्युको कारण थाहा पाउने वैज्ञानिक आधार हो । यसमा मृतकको शारीरिक अवस्था कस्तो थियो भनेर मृत्युको कारण के हुनसक्छ भन्ने उल्लेख गरिएको हुन्छ । पोस्ट–मार्टमले कुनै कर्तव्य गरी ज्यान मारेको वा मार्न प्रयास गरेको रहेछ भने त्यसको खुलासा हुने सम्भावना रहन्छ । तर मोरङ कारागारमा अहिलेसम्म जतिको मृत्यु भयो उनीहरूको पोस्ट–मार्टम नगरिएका कारण यो अवस्था थाहा पाउन सकिने भएन ।



प्रतिक्रिया दिनुहोस !