२५ बैशाख २०८१, मंगलवार

कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता सुरु



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत उमेदवारको मनोनयन दर्ता सुरु भएको छ । मनोनयनका लागि २० वटा टेबलको व्यवस्था गरिएको छ । प्रत्येक टेबलमा तीनजना मनोनयन दर्ताका लागि राखिएको छ ।

सभापति, उपभापति, महामन्त्री, सह–महामन्त्री, कोषाध्यक्ष तथा सदस्यका लागि मनोनयनका लागि छुट्टाछुट्टै टेबलको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार आज उमेदवार मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयन दर्ताका लागि साँझ ५ बजेसम्म  समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि छन् । निर्वाचनबाट कांग्रेसले पदाधिकारीसहित १३४ केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

कांग्रेसको महाधिवेशन शुक्रबार उद्घाटन भएको थियो । गएराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !