८ मंसिर २०८१, शनिबार

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार



खोटाङ। खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको छ ।

प्रसूति व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ३० वर्षीय शान्ता विकलाई आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरि उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेको र थप जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने उल्लेख गर्दै जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा हेलिकोप्टर झिकाएर गर्भवतीको उद्धार गरिएको हो ।

यसअघि शल्यक्रिया गरेर बच्चालाई जन्म दिएको, यसपल्ट आठ महिनामै प्रसूति व्यथा सुरू भएको, अण्डाशयमा पानीका फोकाहरू देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्टले बताए । उद्धार गरिएका शान्तालाई प्रसूति गृह थापाथली काठमाडौँ लगिएको छ ।



प्रतिक्रिया दिनुहोस !