४ जेष्ठ २०८१, शुक्रबार

प्रचण्ड : पत्रकारिता क्षेत्र थप सक्रिय र ‘आक्रोशित’ बन्नुपर्ने



चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्ति र प्रतिगमनविरुद्ध थप आक्रमक रूपमा लाग्नुपर्ने बेला आएको बताएका छन् । शनिबार चितवनमा नेपाल प्रेस सेन्टरको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूले पहिलो युद्ध जितिसकेको तर अझै पनि खतरा कायम रहेको उनको भनाइ छ । ‘‘पहिलो ब्याटल त हामीले जितिसकेका छौँ, तर अझै पनि खतरा टरिसकेको छैन,’’ उनले भने, ‘‘प्रतिक्रान्ति र प्रतिगमनको विरुद्ध लाग्न नछाड्नुहोस् ।’’

अहिले नै ‘रिल्याक्स’ गर्ने बेला नआएको भन्दै उनले यसतर्फ पत्रकारिता क्षेत्र थप सक्रिय र ‘आक्रोशित’ बन्नुपर्ने बताएका छन् । आफ्नो पार्टी समाजवादको बाटोतर्फ अघि बढेको भन्दै उनले निरंकुश, मण्डले प्रवृत्तिलाई परास्त गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।

सत्तारूढ गठनबन्धन तत्काल नटुट्ने भन्दै उनले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।

उनले सम्पूर्ण कम्युनिस्ट पार्टी एक हुनुपर्नेमा जोड दिए । ‘‘अझै पनि नेकपा माओवादी एकता हुनुपर्ने आवश्यक छ । तर, केही भिलेनहरू छन् । उनीहरूबाहेक सम्पूर्ण कम्युनिस्टहरू एक हौँ,’’ उनले भने ।

आफू केपी शर्मा ओलीको सरकारको बेलामा भन्दा अहिले थप शक्तिशाली भएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !