चितवनको सौराहा हात्ती तालिम केन्द्रमा बढ्न थाल्यो पर्यटकको संख्या
चितवन । चितवनको सौराहा स्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन एवम् तालिम केन्द्रमा स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । कोरोना महामारीका बेला सुनसान रहेको केन्द्रमा अहिले भने स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्न थालेको हो ।
बाइसदेखि चौविस महिना सम्म गर्भमा बसेर जन्मिने हात्तीको बच्चा हेर्न आउने पर्यटकको संख्या दिनहु बढ्न थालेको केन्द्रका नासु बनपुरण चौधरीले बताउनुभयो । केन्द्रमा अहिले १० वटा माउ हात्ती र १० बटा बच्चा छन् । त्यस्तै केन्द्रमा गर्भवती हात्तीको स्याहार सुसार देखि जन्मेको तीन बर्षपछि आवश्यक तालिम दिएर निकुञ्जको कामकाजमा लगाउने गरिएको चौधरीले जानकारी दिनुभयो । सामान्यतया एउटा छावालाई तालीम दिन २० दिनदेखि तीन महिना सम्म लाग्ने गरेको चौधरीले बताउनुभयो ।
हात्ती १४ देखि १५ वर्षमा पुगेपछि उनीहरू प्रजनन प्रक्रियामा संलग्न हुन्छन् त्यसपछि गर्भिणी हात्तीलाई केन्द्रमा ल्याउने गरिएको छ । नवलपुर, चितवन, पर्सा, मकवानपुरका क्षेत्र गरी ९५२ वर्गकिलो मिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो, जुन विश्व सम्पदा सूचीमा सूचीकृत रहेको छ ।