४ मंसिर २०८१, मंगलवार

आजबाट फोटोसहितको मतदाता नामावली संकलन सुरु



भरतपुर । चितवनमा आज शुक्रबारबाट फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरू हुँदैछ । जिल्लाको सातवटै स्थानीय पालिकामा दुई चरणमा मतदाता नामावली संकलन गर्न लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

इच्छाकामना गाउँपालिकासहित माडी र कालिका नगरपालिकामा आज शुक्रबारदेखि नामावली संकलन हुँदैछ । यी स्थानीय तहमा पुस २ गतेसम्म नामावली संकलन कार्य जारी रहने बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा भने पुस ४ देखि १८ गतेसम्म मतदाता नामावली संकलन गरिनेछ । भरतपुर महानगरपालिकामा बसोवास गर्ने नागरिकको लागि भने जिल्ला निर्वाचन कार्यालयमै नामावली संकलन हुनेछ । जिल्ला निर्वाचन कार्यालयमा भरतपुर महानगरमा बसोवास गर्ने र चितवन बाहिरबाट आएर बसोवास गर्नेहरुको नामावली पनि संकलन हुनेछ।

दर्ता स्थल व्यवस्थापक, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगी गरी २१ जना कर्मचारी स्थानीय तहको वडा कार्यालय र स्थानीय पालिकाको कार्यालयमै खटिनेछन् ।

अस्थायी बसोबास गरेकाहरुको हकमा भने स्थायी ठेगानाबाटै मतदान गर्न पाउने गरी हाल बसोवास गरिरहेको जिल्लाबाटै नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको हुँदा बाहिरी जिल्लाबाट चितवन आएर अस्थायी बसोवास गर्ने नागरिकलाई पनि फोटोसहितको मतदाता नामावली दर्ताकार्यमा अनिवार्य सहभागी हुन कार्यालयले अनुरोध गरेको छ ।

जिल्लामा मतदाता नामावली विशेष कार्यक्रम–२०७८ बमोजिम स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन कार्य हुने हुँदा फोटोसहितको मतदाता नामावलीमा सहभागी भइदिन जिल्ला निर्वाचन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय चितवनसँग २०७७ चैत ४ गतेसम्ममा कुल तीन लाख ६८ हजार ३८२ जना मतदाताको नामावली संकलन भएको तथ्यांक छ । त्यसमा एक लाख ९० हजार ८७० महिला, एक लाख ७७ हजार ५१२ पुरूष थिए । तर, २०७७ सालको चैत ४ देखि कात्तिक मसान्तसम्ममा त्यसबाहेक पनि १० हजार ३३९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

वि।सं।२०७४ सालमा सम्पन्न निर्वाचनको तथ्यांकअनुसार चितवनमा तीन लाख ५४ हजार ३६ जना मतदाता थिए । यो तथ्यांक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी मतदाताको हो । स्थानीय तहको निर्वाचनमा भने तीन लाख १३ हजार तीन जना मतदाता रहेका थिए ।

नेपालमा १६ वर्ष उमेर पुगेपछि नागरिकता लिने सबैले मतदाता नामावली दर्ता गर्छन् । तर, तिनीहरुले १८ वर्ष उमेर पुगेपछि मात्रै मतदान गर्न पाउँछन् । यसअघि नै फोटोसहितको मतदाता नामावलीमा दर्ता गराइसकेका व्यक्तिले भने दोहो¥याएर पुनः दर्ता गराउनु नपर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली संकलन कार्य निर्वाचन घोषणा नभएसम्म निरन्तर चलिरहन्छ ।



प्रतिक्रिया दिनुहोस !