४ जेष्ठ २०८१, शुक्रबार

अस्पतालबाटै प्रधानन्यायाधीश जबराको सन्देश : विदामा पनि बस्दिन्, कार्यवाहक पनि तोक्दिन्



काठमाडौं । सत्तारूढ पाँच दल सम्मिलित गठबन्धनको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ । तर, कोरोना संक्रमण भएर अस्पतालमा रहेका प्रधानन्यायाधीश जबराले भने आफू विदामा नबस्ने र कार्यवहाक प्रधानन्यायाधीश पनि नतोक्ने आफ्नो स्पष्ट सन्देश सर्वोच्च अदालतमा पठाएका छन् ।

आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको थियो । तर, जबराले आफ्नो स्वास्थ्य राम्रो रहेको भन्दै अहिले विदामा नबस्ने सन्देश प्रवाह गरेका छन् । र, कार्यवाहक पनि नतोक्ने उनको अडान छ ।

यता, सर्वोच्च अदालतका न्यायाधीश र बार पदाधिकारीबीच छलफल जारी छ । हिजो (बुधबार) बाट सुरू भएको गोला प्रक्रियाबाट इजलास गठनको प्रक्रियामा बारले अत्तो थापेपछि दुई पक्ष पुनः छलफलमा जुटेका हुन् ।

आज बसेको सत्तापक्षीय गठबन्धनले भने प्रधानन्यायाधीश जबरामाथि दबाब बढाएको छ । आजको बैठकमा भएको छलफलबारे जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरू सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !