१० मंसिर २०८१, सोमबार

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमा



चितवन । दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै हुने भएको छ। यस्तै नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण पनि चितवनमै हुने एमाले नेता विष्णु रिजालले जानकारी दिए।

उनले भने, ‘विजयी नेताहरुको शपथ ग्रहणपछि बैठक बस्नेछ।’ हाल सम्पन्न  निर्वाचनको मतगणना जारी रहेको एमालेले जनाएको छ। केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले मतगणना सुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको बताए।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको छ। यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ। अरू सबै पदमा सर्वसम्मत भएको थियो।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा   दुईहजार ९२ मत खसेको छ। महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन्।



प्रतिक्रिया दिनुहोस !