७ मंसिर २०८१, शुक्रबार

चितवनमा कर सप्ताह सुरु, यस्तो छ आगामी ७ दिनको कार्यतालिका



चितवन । दशौं कर सप्ताहअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।

आन्तरिक राजस्व कार्यालय भरतपुरले आजदेखि सुरु गरेको कर सप्ताह मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण खासै कार्यक्रम नगरिए पनि यसवर्ष सङ्क्रमण घट्दै गएकाले सप्ताहव्यापी रुपमा कार्यक्रम गर्न लागिएको सो कार्यालयले जनाएको छ ।

१ गते कार्यक्रमअन्तर्गत आज शुभारम्भ, करदाता सम्मान, २ गते सेवाग्राहीलाई करदाता शिक्षा कार्यक्रम, ३ गते उद्योग वाणिज्य सङ्घ रत्ननगरमा करदाता शिक्षा, ४ गते उद्योगीसँग करदाता शिक्षा, ५ गते सहकारीकर्मीलाई करदाता शिक्षा, ६ गते अडिटरको समस्या समाधानका लागि अन्तक्र्रिया र ७ गते समापन कार्यक्रम रहेको छ ।

उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताले लगानीमैत्री वातावरण तयार गर्न राज्यले अझै नसकेको बताएका थिए । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले राज्यले लगानीको सुरक्षा र लगानीमैत्री वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै जिल्लामा अहिले उद्योग क्षेत्रमा समस्या नरहेको बताए। उनले करदाता र कर प्रशासन प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा आर्थिक वर्ष २०७६ र ७७ मा उत्कृष्ठ आयकर बुझाउने नारायणी सामुदायिक अस्पताललाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ठ कार्यसम्पादन गर्ने दुईजना कर्मचारीलाई समेत सम्मान गरिएको थियो । यसअघि उद्योग वाणिज्य सङ्घ चितवनबाट प्रभातफेरी निकालिएको थियो ।

कार्यालयका प्रमुख घनश्याम पन्थीले चालू आर्थिक वर्षको हालसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो । राजस्व सङ्कलनमा देशको चौंथो स्थानमा पर्न सफल भएको यस कार्यालयले चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा रु ६ अर्ब ४९ करोड ६५ लाख २३ हजार राजस्व सङ्कलन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !