३ मंसिर २०८१, सोमबार

विपन्न वर्गका उपभोक्तालाई निःशुल्क बिजुली



काठमाडौं। सरकारले २० युनिटभन्दा कम विजुली खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको घोषणा कार्यान्वयन गरेको हो।

यो व्यवस्थाअनुसार मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने १९ लाख ८६ हजार विपन्न वर्गका उपभोक्ताले यो सुविधा पाउनेछन् । यी परिवारले मासिक ३० रुपैयाँ शुल्क तिरे पुग्नेछ । ३० रुपैयाँ इनर्जी शुल्कका रुपमा तिर्नुपर्ने भएको हो। त्यस्तै, कृषि र सिँचाई प्रयोजनमा प्रयोग हुने विद्युतको महशुलमा पनि छुट दिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्ने भएसँगै यो सुविधा प्रदान गरेको हो। विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार मूल्य घटाएर विलिङ हुने भएको छ। यो नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटेको छ।

यो व्यवस्थाअनुसार सिंगल फेज प्रयोगकर्ताको न्युनतम शुल्क २५ रुपैयाँ घटेको छ। प्राधिकरणकाअनुसार सिंगल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।

४ सय युनिटभन्दा माथि खपत गर्ने उपभोक्ताले यस्तो शुल्क प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्ने प्राधिकरणले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !