९ मंसिर २०८१, आईतवार

एमाले महाधिवेशनमा अढाइ लाख मानिस बागमतीले जुटाउने



काठमाडौं। मंसिर १० गते चितवनमा उद्घाटन हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा ५ लाख कार्यकर्ता उतार्ने घोषणा गरिएको छ । त्यसका लागि सातवटै प्रदेश कमिटीलाई तोकिएको संख्यामा कार्यकर्ता चितवन लैजान केन्द्रले निर्देशन दिएको छ । वागमती प्रदेशमा पर्ने चितवनमा हुने महाधिवेशनमा सवैभन्दा बढी कार्यकर्ता उतार्ने जिम्मा पार्टीको वागमती प्रदेश कमिटीले पाएको छ ।

एमाले वागमती प्रदेश कमिटीले मात्रै ५ लाखमध्ये अढाइ लाख कार्यकर्ता चितवन लैजाने जिम्मा पाएको छ । एमाले दशौं महाधिवेशन जनपरिचालन कमिटी वागमतीका अध्यक्ष आनन्द पोखरेलले वागमती प्रदेशबाट कसरी जनपरिचालन गर्ने भनेर छलफल गर्न बुधबार बैठक बोलाएको बताएका छन् ।

काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरबाट ५० हजार, चितवनबाट ७५ हजार, मकवानपुरबाट ३० हजार, वागमती सम्पर्क कमिटीबाट २५ हजार, धादिङबाट १५ हजार, काभ्रेबाट १५ हजार, सिन्धुपाल्चोकबाट १५ हजार, सिन्धुलीबाट ५ हजार, दोलखा र रामेछापबाट २ हजार, नुवाकोटबाट ५ हजार, जनवर्गीय संगठनबाट २५ हजार र सुवाबाट ५ सयका दरले कार्यकर्ता चितवन पुग्दैछन् । त्यस्तै यो प्रदेशका पहाडी र हिमाली जिल्लाबाट प्रत्येक वडाबाट एक बसका दरले कार्यकर्ता चितवन लैजाने गरी कार्ययोजना बनाएको एमालेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !