२ मंसिर २०८१, आईतवार

टी २० विश्वकप फाइनल : अस्ट्रेलियाको ब्याटिङ VS न्युजिल्याण्डको बलिङ



एजेन्सी। आईसीसी इभेन्टको लगातार तेस्रो फाइनल खेल्दैछ न्युजिल्याण्डमा। यस्तै, सन् २०१५ मा एकदिवसीय विश्वकप जितेयता अस्ट्रेलिया पहिलो फाइनल खेल खेल्दैछ। यी दुई टोली दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज साँझ पौने ८ बजे टी २० विश्वकपको उपाधिका लागि आमनेसामने हुँदैछन्।

जारी विश्वकपमा टस जित्ने टोलीले खेल जित्दै आएको तथ्यांक छ। यदी आजको खेलमा पनि टस जित्ने टोलीले खेल जिते औशत तीन मध्येका दुई खेल टस जित्ने टोलीले जित्नेछ।

टी २० फर्म्याटमा यी दुवै टोलीले अहिलेसम्म विश्वकप उपाधि जितेका छैनन्। दुवै टोली पहिलो पटक टी २० विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा उत्रदैछन्। टी २० विश्वकपमा अस्ट्रेलियाको यो दोस्रो र न्युजिल्याण्डको पहिलो फाइनल खेल हो।

न्युजिल्याण्डका चोटिल डेभोन कोन्वेको स्थानमा सेइफर्ट उत्रने सम्भावना छ।

न्युजिल्याण्डको टिम पूर्णत सन्तुलित देखिन्छ। भलै कप्तान केन विलियमसनको फर्म केही चिन्ताको रुपमा देखिएको छ। ओपनिङमा मार्टिन गुप्टिलले राम्रो गर्नुपर्नेछ भने डेरिल मिचेल आफ्नो भुमिकामा सफल देखिन्छन्। त्यस्तै बलिङतर्फ ट्रेन्ट बोल्ट, टीम साउथी र इस सोडी अस्ट्रेलियन ब्याट्सम्यानका लागि घातक हुन सक्छन्। त्यस्तै अलराउण्डर जिम्स निशमको फर्म पनि किवी टोलीका लागि राहतको विषय हो। न्युजिल्याण्डलाई कप्तान विलियमसनको ठूलो पारीको प्रतिक्षा छ। सेमिफाइनलमा मध्यक्रममा बलियो प्रदर्शन गरेका डेभोन कोन्वेको अभाव भने खड्किने देखिन्छ।

इस सोडी न्युजिल्याण्डका लागि बलियो हतियार हुन सक्छन्। सेमिफाइनलमा पनि अस्ट्रेलियाविरुद्ध लेग स्पीनिर सादाब खानले ४ विकेट लिएर खेलको मोमन्टमलाई नै प्रभावित गरिदिएका थिए। त्यस्तै किवी टिमका सोडीले आरोन फिन्स र मार्कस स्टोइनिसमा ३र३ पटक आउट गराइसकेका छन्। त्यस्तै डेभिड वार्नरले सोडीको मात्र ८ बल खेलेका छन् जसमा २ पटक आउट भएका छन्।

त्यस्तै अस्ट्रेलियाको टिम पनि सन्तुलित देखिएको छ। प्रतियोगिता अघिको अवस्था हेर्ने हो भने अस्ट्रेलियन टिमका वार्नर र फिन्स फर्ममा थिएनन्। तर समूहमा एउटा खेलबाहेक सबै खेलमा जित निकाल्दै अस्ट्रेलियाले आफ्नो क्लास पुष्टि गर्‍यो। त्यस्तै सेमिफाइनलमा पाकिस्तानलाई हराउन मार्कस स्टोइनिस र म्याथ्यु वेडले दमदार प्रदर्शन गरे। पछिल्ला दुई म्याचमा वार्नरले राम्रो प्रदर्शन गर्दै टिममा आफ्नो अहमता देखाइसकेका छन्।

दुवै टोलीको फाइनल यात्रा

समूह बी को उपविजेता न्युजिल्याण्डले आफ्नो पहिलो खेलमै पाकिस्तानसँग ५ विकेटको हार ब्यहोरेको थियो। त्यसपछिको भारतसँगको खेलमा ८ विकेटको फराकिलो जित निकाल्दै खेलमा फर्किएको थियो। तेस्रो खेलमा स्कटल्याण्डमाथि ६ विकेटको जित, चौथो खेलमा नामिबियामाथि ५२ रनको जित र पाँचौ खेलमा अफगानिस्तानमाथि ८ विकेटको जित निकाल्दै समुहको उपविजेता बन्दै न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको हो। सेमिफाइनलमा इङ्ग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्डले फाइनलको यात्रा तय गरेको हो।

समूह बी को विजेता पाकिस्तानलाई सेमिफाइनलमा हराएर फाइनल प्रवेश गरेको अस्ट्रेलिया समूह ए को उपविजेता थियो। समूह चरणमा साउथ अफ्रिकामाथि ५ विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको अस्ट्रेलियाले दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराएको थियो। त्यस्तै तेस्रो खेलमा इङ्ग्ल्याण्डसँग ८ विकेटको पराजय ब्यहोरेको अस्ट्रेलिया चौथो खेलमा बंगलादेश र पाँचौ खेलमा वेस्ट इण्डिजविरुद्ध समान ८ विकेटको जित निकाल्दै समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो।

 

 



प्रतिक्रिया दिनुहोस !