९ मंसिर २०८१, आईतवार

जंगली जनावरको डरले सर्‍यो एमालेको महाधिवेशन स्थल



चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ ।

बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

बाघमारा चौरमा जंगली जनावरले आक्रमण गर्न सक्ने खतरा रहेकोले सुरक्षाको लागि स्थान परिर्वतन गरिएको उनले बताए । सोही होटलमा बन्दसत्रको सम्पूर्ण कार्यक्रम सञ्चालन हुने मुल व्यवस्थापन समितिले जनाएको छ ।

एमालेको १०औँ राष्ट्रिय महाधिबेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिबेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा हुने छ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुने छ । बन्द सत्रमा भोटिङका लागि १०० विद्युतीय उपकरण प्रयोग गरिने एमालेले जनाएको छ ।

क्षेत्रीय होटल संघ चितवन सौराहासँग सम्झौता गर्ने सहमति भएपनि अहिले सम्म सम्झौता भइसकेको छैन् । मुल व्यवस्थापन समितिको सह–संयोजक तथा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको बैठकमा आवास व्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोखरेल, खाद्य व्यवस्थापन समितिका संयोजक कपिल पोखरेल, जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाको मेयर नारायण वन लगायतको सहभागिता थियो ।

छलफलमा व्यवसायीको तर्फबाट क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराई, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी र जीप तथा डुंगा सफारी प्रालिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस !