९ मंसिर २०८१, आईतवार

चितवनमा स्ट्रोबेरीको व्यावसायिक खेती, टिकटक बनाउन शुल्क तिर्नुपर्ने ब्यवस्था



चितवन। सप्तरी राजविराजका शशन देवकोटाको टिमले गत वर्ष भरतपुर महानगरपालिका-५ समिचोकमा १२ कठ्ठामा पहिलो पटक स्ट्रोबेरीको परीक्षण खेती सुरु गरेका थिए ।

शशनसहित आठ जनाले स्ट्रोबेरीको उत्पादनमाथि अनुसन्धान गरे । स्ट्रोबेरीले राम्रो फल दिएपछि उनीहरूले यस वर्ष करिब १८ कठ्ठामा स्ट्रोबेरीको व्यावसायिक खेती गरेका छन् ।

त्यस बाहेक छुट्टै पाँच कठ्ठामा पुनः परीक्षण खेती सुरु गरेका छन् । शशनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट कृषिमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट स्नातकोत्तर गरेका हुन् । विगतका तीन वर्ष स्ट्रोबेरीमा अनुसन्धान गरेका उनले यस वर्ष व्यावसायिक खेती गरेका हुन् ।

अमेरिकामा पढ्दै गर्दा शशनले स्ट्रोबेरीमा लाग्ने कीराबारे अनुसन्धान गरे । तीन वर्षसम्म अमेरिकामा अनुसन्धान गरेपछि उनी नेपाल आए । नेपाल एग्रोभाइन प्रा.लि.मार्फत उनको टिमले स्ट्रोबेरीमाथि अनुसन्धान गरेको हो । उनको टिममा जनक गैरे, देव पौडेल, विशाल श्रेष्ठ, दिपक श्रेष्ठ, सविन आचार्य, राकेश सुवेदी र सुधीर रेग्मी छन् । उनको टिममा रहेका आठ जनामध्ये पाँच जनाले कृषि नै पढेका हुन् ।

उनीहरुले मोरङ र सुनसरीमा पनि यस वर्ष स्ट्रोबेरीको व्यावसायिक खेती सुरु गरेका छन् । तीनवटा फार्ममा उनीहरूको संयुक्त एक करोड रुपैयाँभन्दा बढी लगानी छ । यहाँको माटो र मौसममा स्ट्रोबेरीको उत्पादन कस्तो हुने रहेछ भनेर अनुसन्धान गर्न उनीहरूले गत वर्ष परीक्षण खेती सुरु गरेका हुन् । स्ट्रोबेरीले परिमाण र गुणस्तरमा राम्रो उत्पादन दिएपछि व्यावसायिक खेती गर्न थालिएको शशनले जानकारी दिए।

अनुसन्धानका लागि गत वर्ष स्पेन र भारतबाट स्ट्रबेरीका बिरुवा ल्याइएका थिए । यस वर्ष भारतको महाराष्ट्रबाट मात्र बिरुवा मगाइएको उनले बताए । ‘गत वर्ष बिरुवा ल्याउनै झन्झट थियो । यस वर्ष भने हामीलाई सहज भयो । सरकारले वान डोर पोलिसी लागु गरेपछि अनलाइनबाटै आयात अनुमतिपत्र लिन पाएका थिए ।

फार्मसम्म ल्याइपुर्‍याँदा एउटा बिरुवाको मूल्य ३५ रुपैयाँ पर्न जाने उनी बताउँछन् । एक सिजनमा प्रति बिरुवा आधा किलोसम्म उत्पादन हुने उनको अनुमान छ । गत वर्ष १२ कठ्ठामा लगाइएको १२ हजार बिरुवाबाट करिब तीन टन स्ट्रोबेरी बिक्री भएको उनले बताए । खासमा तिहारअघि नै बिरुवा लगाइसक्नुपर्ने हो । केही बिरुवा गर्मीले मरेकाले लगाउन केही ढिला भयो । अब लगाइएको स्ट्रबेरी १५ पुसदेखि पाकेर बिक्री गर्न सकिने हुन्छन् र चैतसम्म बिक्री गर्न सकिन्छ ।

#टिकटक बनाउँदा शुल्क तिर्नुपर्ने :

गत वर्ष उनीहरूले परीक्षणका लागि लगाएको स्ट्रोबेरी फार्म भाइरल नै बन्यो । फार्मभित्र प्रवेश गरि स्ट्रोबेरी टिप्दै टिकटक बनाउनेको भिड लागेपछि केही दिनसम्म फार्म नै बन्द गर्नुपरेको थियो । यस वर्ष भने फार्मभित्र प्रवेश गर्नेलाई शुल्क लगाउने योजना रहेको शशन बताउँछन् ।

‘जभाभावी फार्मभित्र पसेर टिकटक बनाउँदा बिरुवाहरु भाँचिए । कति मरे । यस वर्ष त्यसरी पस्न दिइँदैनौँ । दुई र तीनवटा लाइनमा मात्र पस्न पाउने, त्यो पनि शुल्क तिरेर मात्र । त्यसो गर्ने योजनामा छौँ’, उनले भने । प्रति व्यक्ति १० देखि २० रुपैयाँसम्म प्रवेश शुल्क लिने योजना रहेको उनले बताए ।

#कसरी गरिन्छ त स्ट्रोबेरी खेती :

1. स्ट्रोबेरी माटोको ड्याङ बनाएर रोप्ने गरिन्छ ।
2. ड्याङको चौडाइ ७० देखि ९० सेन्टिमिटरसम्मको हुन्छ ।
3. बिरुवाहरूलाई ड्याङमा ३० देखि ३५ सेन्टिमिटरको अन्तर बनाएर रोप्नुपर्छ ।
4. दुई ड्याङ बीचको दुरी कम्तिमा ४५ सेन्टिमिटर कायम गर्नुपर्छ ।
5. दोमट माटोमा स्ट्रोबेरीको खेती राम्रो हुन्छ ।
6. बिरुवा रोपेपछि नियमित रूपमा गोडमेल गर्नुपर्छ ।
7. बिरुवामा प्लाष्टिकको मल्च बनाएर सिँचाइ गरिन्छ ।
8. जाडोयाममा माटोमा चिस्यान रहिरहने भएकाले फल गुलियो हुन्छ ।



प्रतिक्रिया दिनुहोस !