आज छठ पर्वको दोस्रो दिन, कसरी गरिन्छ व्रत ?
मैथिली। हिन्दुहरुको लोकपर्व छठ अर्थात सूर्य षष्ठी पूजाको दोस्रो दिन आज व्रतालुहरू खरना गरिरहेका छन् । धार्मिक नियमपूर्वक जनविश्वासका साथ मनाइने चार दिवसीय आस्थाको पर्व छठ सोमबारदेखि शुरु भएको हो ।
हिन्दु धार्मिक मान्यता अनुसार छठ वर्षमा दुई पटक कात्तिक र चैत्रमा अत्यन्तै निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको पर्व छठलाई तराई मधेस तथा मिथिलाञ्चलको महान पर्व पनि भनिन्छ ।
लोकपर्व छठको आज दोस्रो दिन व्रतालुहरू नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका सामग्री तयार गरी रहेका छन् । छठ व्रत गर्ने व्रतालु महिला तथा पुरुषहरूले हिजो चोखो अरवा चामलको भात, चना, रहरको दाल, फर्सी, लौकाको तरकारी खाएर छठ पर्व सुरु गरेका हुन् ।
छठ पर्वको पहिलो दिनलाई नहाए खाए भनिन्छ । पर्वको दोश्रो दिन मंगलवार व्रतालुहरूले खरना मनाइरहेका छन् । खरनाको दिन व्रतालुहरू बिहानैदेखि निर्जला रही बेलुका नयाँ माटोको चुल्होमा प्रासादको रुपमा साठी धानको चामल र गाई, भैंसीको दुधको खीर र गहुँको पिठोको रोटी पकाई छठी मातालाई चढाउँछन् । त्यही प्रसाद खाने गर्दछन् । त्यसछि ब्रतालुहरु ३६ घण्टा पानीसमेत नखाएर निराहार व्रत शुरु हुनेछ ।
लोकपर्व छठ अन्तर्गत भोलि बुधवार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने र पर्सिपल्ट बिहीवार बिहान उदाउँदो सूर्यलाई विधि पूर्वक अर्घ दिएपछि छठ विधिवत रुपमा सकिन्छ ।
छठपर्व मनाउन रौतहटको सबै स्थानका नदी, पोखरी, तलाउ किनारमा पंडाल सजावट सुरु भएको छ । छठ सुरु भएपछि छठी मैयाँसँग सम्बन्धित भोजपुरी, हिन्दी गीत तथा भजन कीर्तनले शहरदेखि गाउँसम्मको वातावरण भक्तिमय बनेको छ ।