भरतपुर सवस्टेशनको दुईवटै ट्रान्सफर्मर सञ्चालनमा
चितवन। चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२ र ११ KV क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको छ ।
प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सवस्टेशनमा जगेडामा रहेको २२.५ MVA क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु गरिएको थियो । कास्कीको लेखनाथ सवस्टेशनमा रहेको २२.५ MVA क्षमताको ट्रान्सफर्मरल्याई भरतपुर सवस्टेशनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो ।
तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मतस्थलमा खटिएका थिए । कार्यकारी निर्देशक घिसिङले दीपावलीमा कुनै पनि घरमा बिजुली बाल्न पाइएन भन्ने गुनासो नआओस् भनेर आफै खटेर सवस्टेशनको मर्मत गरेर हाल पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिएका छन् ।