नारायणी किनार अवलोकन गरेर फर्किए ओली काठमाडौं
चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चितवनका विभिन्न कार्यक्रममा सहभागी भई बुधबार काठमाडौँ फर्किएका छन्।
एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारको बुधबार बिहान स्थलगत अवलोकन गरी पूर्वप्रधानमन्त्री ओली काठमाडौँ फर्किएका हुन्। उनी सोमबार चितवन आएका थिए। एमालेको १०औँ महाधिवेशन आगामी १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा हुने भएपछि काठमाडौं फर्किनुपूर्व नदी किनारको अवलोकन गरेका हुन्।
उद्घाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने एमालेले जनाएको छ। महाधिवेशनको व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी चितवन गृहजिल्ला भएका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले पाएका छन्। महाधिवेशन हुने स्थलको अवलोकन, भरतपुर महानगर कमिटिको अधिवेशन उद्घाटन र माडी अयोध्यापुरीस्थित राम मन्दिरको पूजा अर्चनाका लागि ओली चितवन आएका थिए।
ओली चितवन आउनु र चितवनमै महाधिवेशन गर्नुलाई फरक तरिकाले पनि बुझ्न थालेका छन्। किनकि एमालेका अध्यक्ष ओली जहाँजहाँ पुगे ती सबै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो। त्यसैले एमाले र माओवादी पार्टीबीचको राजनैतिक लडाइँ भएको कतिपयले विष्लेशण गरेका छन्।