प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता, यस्तो विषयमा भयो छलफल
काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्ने क्रम आज पनि जारी छ ।
सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए । मङ्गलबार राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्बोधन सम्पन्न भएसँगै सम्मेलन समापन गरिने तालिका रहेको छ ।
सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ । प्रधानमन्त्री देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो । आजै प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नेछन् । यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नेछन् ।
सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार राति संयुक्त अधिराज्य आएका थिए। अक्टोबर ३१ देखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।