दिन थालियो, चितवन रत्ननगरका धान पीडित किसानलाई राहत
चितवन । चितवनको रत्ननगर नगरपालिकाले बेमौसमी बर्षाबाट पीडित बनेका धानका किसानहरुलाई राहत वितरण गरेको छ । नगरपालिकाका मेयर नारायण वनले किसानको खेतमै पुगेर घोषणा गरेको १० दिनमै नगरपालिकाले किसानलाई राहत वितरण गरेको हो । सम्भबत रत्ननगर धान पीडित किसानलाई राहत उपलब्ध गराउने नेपालमै पहिलो पालिका हो । असोज २९, ३० र ३१ गते तीन दिन सम्म परेको बेमौसमी बर्षाले किसानको भित्र्याउने बेला भएको धानमा क्षति गरेको थियो ।
नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको हो । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा मेयर नारायण वनले सो वडाका किसान ब्रमा चौधरीलाई राहत रकम हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन । रत्ननगरमा एउटै किसानको दुई कठ्ठा देखि साढे पाँच कठ्ठा सम्मको धानमा क्षति पुगेको छ ।
मेयर वनले वडा नं १ का एक दर्जन किसानहरुलाई उद्घाटनका अबसरमा राहत रकम हस्तान्तरण गरेका छन् । वडाका रसिर मिँयाले १८ हजार,ब्रम चौधरीले ६ हजार ५०० राहत रकम पाएका छन् । बेमौसमी बर्षाले १६ वटा वडामा २ हजार किसानको ९०० विघा धान खेती पूर्ण रुपमा क्षति भएको छ ।
वडा नं १ मा २८ विघा,वडा नं २ मा १० कठ्ठा,वडा नं ३ मा १६ विघा,वडा नं ४ मा १४ विघा,वडा नं ५ मा सबै भन्दा बढी ३८० विघा, वडा नं ६ मा १०४ विघा, वडा नं ७ मा ९६ विघा, वडा नं ८ मा साढे ५१ विघा, वडा नं ९ मा साढे ३६ विघा,वडा नं १० मा साढे ६० विघा,वडा नं ११ मा ९ विघा, वडा नं १२ साढे २४ विघा, वडा नं १३ मा १५ विघा,वडा १४ मा ३३ विघा, वडा १५ मा ४७ विघा र वडा नं १६ मा साढे ३५ विघा धान खेतीमा क्षति भएको छ ।
प्रतिविघा १० हजारको दरले ९० लाख रुपैया राहत स्वरुप वितरण हुने कृषि शाखा प्रमुखले जानकारी दिए । सबै भन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको साढे ५ विघा क्षेत्रफलमा लगाएको धान खेती कुहिएर नष्ट भएको छ । उनले मंगलवार वडा कार्यालयबाट ५५ हजार रुपैया राहत रकम पाउदैछन् । सोमबार राहत रकम वितरण कार्यको शुभारम्भ गरेको सो नगरपालिकाले प्रत्येक वडाबाट किसानलाई राहत रकम वितरण गर्ने छ ।