९ मंसिर २०८१, आईतवार

एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने



चितवन । नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चितवनमा गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् ।

आज पत्रकारसँग कुराकानी गर्दै पाण्डेले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताएका छन् । पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, वाग्मतीबाट दुई लाख ५० हजार, प्रदेश नं १ बाट २५ हजार सहभागी हुने अनुमान गरेका छन् ।

हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ । उद्घाटनसत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुरेर व्यवस्थापन गर्न लागिएको थियो । उद्घाटन सत्रपछि बन्द सत्र सौराहामा गरिने जानकारी दिएका छन् । सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने छ ।

आजै महाधिवेशन मूलसमितिको सम्पर्क कार्यालय एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरी महाधिवेशन तयारी तीव्र पारिने छ ।

नेता पाण्डेले महाधिवेशन कुनै दल र नेताप्रति लक्षित गरेर नगरिएको दाबी गरेका छन् । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो । महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुँदै छ ।



प्रतिक्रिया दिनुहोस !