१२ बैशाख २०८१, बुधबार

सन् २०२० मा ८० प्रतिशतले घटे पर्यटक



काठमाडौं । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा २ लाख ३० हजार पर्यटक मात्र आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण अपेक्षाविपरीत पर्यटक आगमन घटेको हो ।

अघिल्लो वर्षको तुलनामा गतवर्ष पर्यटन आगमन ८० प्रतिशतभन्दा धेरैले खस्किएको छ । अघिल्लो वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्या सन् २०१८ मा ११ लाख ७२ हजार ७२ थियो ।

कोभिडको संक्रमणले विश्व समुदायलाई प्रभाव पर्दा भ्रमण वर्षले राखेको लक्ष्य पूरा गर्न नेपाललाई कठिन भयो । भूकम्पपछि बिस्तारै तङ्ग्रिँदै गरेको पर्यटन कोरोनादमहामारीले एकैपटक थला पर्‍यो । कोभिडकै कारण गत वर्ष नेपालले अन्तरराष्ट्रिय उडानमा ९ महीनाभन्दा बढी समय प्रतिबन्ध लगाउँदा पर्यटक आगमन ठप्प बनेको थियो ।

अध्यागमन विभागका अनुसार २०२० मा सबैभन्दा बढी पर्यटक भारतबाट २५ हजार ३२० जनाले नेपाल भ्रमण गरेका छन् । यसपछि चीनबाट ९ हजार ८०८ जना, अमेरिकाबाट ९ हजार ६८२ जना, थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यान्माबाट ९ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसमध्ये हवाई मार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १३० जना पर्यटक नेपाल आएका छन् भने स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका छन् ।

सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको थियो । तर, कोरोना महामारीका कारण भ्रमण वर्ष नै स्थगित गर्नुपर्‍यो । कोरोना महामारीकै कारण मुलुकको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन अझै केही वर्ष लाग्ने पर्यटन व्यवसायीहरूको धारणा छ । सन् २०२० लाई असामान्य अवस्था भन्दै उनीहरूले अब स्वास्थ्य मापदण्ड अपनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने बताएका छन् ।

कोभिडकै कारण पर्यटक आगमनमा कमी आए पनि सन् २०२० मा भएका केही भीआईपीहरूको नेपाल भ्रमणले आउने दिनमा बाह्य पर्यटकलाई नेपाल ल्याउन सकिने पर्यटन व्यवसायीहरूको धारणा रहेको छ । यो समाचार आजको आर्थिक अभियानमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !