जाजरकोटमा बन्यो रातमा अवतरण गर्ने मिल्ने हेलिप्याड
जाजरकोट। जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ ।
सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाखमा उक्त रात्रीकालीन हेलिप्याड निर्माण गरेको हो ।
चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेका अनुसार भेरी नगरपालिकाको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढी पहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएको जाजरकोटले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएको थियो । हेलिप्याड निर्माणसँगै अब जिल्ला भित्रबाट उद्धार तथा राहतका कामहरू रात्रीकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ ।
सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना अग्रसर हुने भएकाले हेलिप्याड गणभित्र निर्माण गरिएको हो । श्री नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उक्त हेलिप्याड उद्घाटन गरी विधिवत रुपमा सञ्चालनमा ल्याइएको हो।
अघिल्लो वर्ष बारेकोट गाउँपालिका–४ सार्कीटोलमा बाढी पहिरोबाट भएको मानवीय क्षतिको समयमा समेत सेना नै घटनास्थलमा पहिला पुगेको थियो ।