चट्याङबाट मृत्यु भएका चार परिवारलाई एक-एक लाख सहयोग
सप्तरी । सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप रु एक-एक लाख प्रदान गरिएको छ ।
प्रदेश नं २ सरकारले राहतस्वरुप मृतक चार जनाको परिवारलाई रु एक-एक लाखका दरले सहयोग उपलब्ध गराएको हो । राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई रु एक लाखको चेक हस्तान्तरण गरिएको हो ।
मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एक÷एक लाखको चेक हस्तान्तरण गरेका हुन ।
वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथीसँगै कोशी नदी गएका बेचन यादव र कपाल काटन लगिएका हजाम नकछेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको थियो । बेचन महादेवा गाउँपालिकाका खरिदार थिए ।
यसैगरी लकडाउनका बेला विद्यालय बन्द भएपछि घर आएका उदयपुरको रानीवास खाँबुस्थित जनता माविका शिक्षक केसीलाल साहको धान रोप्ने खेतमा काम गर्न निक्लिएका बेला चट्याङ लागेर मृत्यु भएको थियो । खेतमा काम गरिरहेकी ललीतादेवी यादवको समेत सोही दिन चट्याङ लागेर मृत्यु भएको थियो ।
चट्याङ लागेर राजगढ गाउँपालिका–४ की २१ वर्षीया आशाकुमारी मण्डल र बेचनसँगै कोशी नदी गएका उनका साथी दीपक यादव घाइते भएका थिए ।