९ मंसिर २०८१, आईतवार

तिहारलाई मखमली, सयपत्री र गोदावरी फूल आयात हुँदै



काठमाडौँ । स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ ।

फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ । फूल मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प व्यवसायी लागिपरेका छन् । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ । उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो ।

फूल उत्पादनमा कमी आए पनि यस वर्ष माग भने बढेको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झैँ लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोना भाइरस सङ्क्रमण जोखिम कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पादनमा पनि देखिएको छ । यस वर्ष बजार माग बढेको छ । माग बढी र उत्पादन कम भएपछि यस वर्ष तिहारको समयमा भारतबाट सयपत्री फूलको माला विगत वर्षको तुलनामा धेरै ल्याउन लागिएको हो ।

यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला रहेका छन् । माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ । भारतबाट ल्याइने फूल तिहार सुरु हुन तीन दिन बाँकी रहँदा नेपाल आइपुग्नेछ ।

पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थाले पनि यस वर्ष भने उत्पादनमा कमी हुने अनुमान छ । केही वर्षयता वार्षिक रु तीन अर्ब मूल्य बराबरका फूलको कारोबार हुने गरेको थियो । तिहार र अन्य मौसममा रु ११ करोड मूल्य बराबरको फूल विदेशबाट आयात हुँदै आएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !