गीतले सम्झाइदियो उपयोगी जडिबुटि मरौटी
काठमाडौं। ‘रमरम मरौटी तिम्रो रुपै करौँती’ यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई फेरि एकपटक नेपाली उपयोगी जडिबुटीको महत्व नयाँ पुस्ता माझ छर्देको छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ ।
नेत्र अर्यालले शब्दमा गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेका छन्, उति नै त्यो गुणकारी पनि छ । युट्युबमा सार्वजनिक भएको तीन सातामै ५० लाख भ्यूज कमाउन सफल गीतमा प्रयोग गरिएको मरौटी खासमा के हो त ?
मरौटीको पञ्चाङ्ग नै ९जरा, डाँठ, पात, फल र फूल० आयुर्वेदिक आषैधिमा प्रयोग हुन्छ । मरौटीलाई जनबोलीमा मरहट्टि र भुइँ टिमुरसमेत भनेर चिनिने गरेको पाइन्छ । मरौटी हल्का पिरो, टर्रो र रमरम स्वादको हुन्छ । महाराष्ट्रिय सोरसलगायत आयुर्वेदिक औषधिमा यसको प्रयोग हुन्छ ।
खोकी, शरीर दुखाइ, दाँत दुखाइ, मुखमा घाउ, खटिरा आउने जस्ता समस्यामा मरौटीको प्रयोग लाभदायी हुन्छ । श्वासप्रश्वास र पाचन प्रणालीलाई पनि मरौटीबाट बनेको आयुर्वेदजन्य औषधिले फाइदा गर्छ ।
घरगाउँमा पेट, दाँत दुख्दा, अपच हुँदा र रुघाखोकी लाग्दा मरौटी खाने चलन छ । मरौटी बहुउपयोगी वनस्पति हो । औषधि र मसलाजन्य दुवै गुण मरौटीमा पाइन्छ । खाना स्वादिष्ट बनाउन भान्सामा पनि यसको प्रयोग हुन्छ ।
अचार र चटनीमा राख्दा मरौटीले अझ बढी स्वाद दिन्छ । आयुर्वेदको तयारी औषधिबाहेक घरायसी विधिबाट पनि मरौटीको प्रयोग गर्न सकिन्छ । झोल बनाएर खान सकिने र शरीर दुखाइमा पात र जरा दलेर पनि घरेलु उपचार गर्न सकिन्छ ।
व्यावसायिक खेती नभएकाले ग्रामिण भेगमा फाटफुट्ट मात्र मरौटीको वनस्पति भेटिन्छ । जङ्गलमा पाइने मरौटीलाई ‘वन मरौटी’ भन्ने गरिन्छ । त्यो घरमा हुनेभन्दा केही मसिनो हुन्छ । आयुर्वेदीय गुण भने त्यसमा पनि उत्तिकै हुन्छ ।
मरौटी धेरै फलेमा टिपेर सुकाएर भण्डारण पनि गर्न सकिन्छ । झट्ट हेर्दा फूलझैँ देखिने मरौटीको फल सुकेर झरेपछि त्यसैबाट नयाँ बिरुवा पलाउँछ । मरौटीको व्यावसायिक खेती गर्न सके किसानको आर्थिक जनजिवनमा काफि सुधार आउन सक्छ ।
खोजी र संरक्षण नभए मरौटी लोप भएर जाने खतरा रहेको छ । गुणकारी वनस्पति सम्झाइदिने गीत ‘रमरम मरौटी’ मा कलकार पूजा शर्मा र ओवी रायमाझीको अभिनय छ । तीन साताअघि ‘ओवी रायमाझी’ युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको थियो ।