५ मंसिर २०८१, बुधबार

कारबाही गर्यो भरतपुर अस्पतालले तिन ‘औषधि सप्लायर्स’ लाई



चितवन । भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो ।

कारबाही स्वरुप अस्पतालले औषधि बाहिर खरिद गर्दा र बोलपत्रमा सम्झौता हुँदाको मूल्यभन्दा थप परेको मूल्य सम्झौता गर्ने पक्षलाई तिर्न लगाएको छ । सरकारको ‘फार्मेसी निर्देशिका २०७४’ अनुसार अस्पतालमा फार्मेसी सञ्चालनमा आएपछि औषधि समयमा नल्याउने ठेकेदार कम्पनीलाई यस अस्पतालमा कारबाही गरिएको यो पहिलो रहेको अस्पतालको फार्मेसी विभाग प्रमुख सविनराज लामिछानेले जानकारी दिनुभयो ।

सन फार्मेसीले मधुमेहका बिरामीलाई आबश्यक पर्ने ‘मेटफर्मीन’ नामक औषधि विगत दुई महिनादेखि उपलब्ध गराउन छाडेको थियो । सो औषधि फार्मेसीले सम्झौताअनुसार १।४० पैसा प्रति ट्याब्लेटमा अस्पताललाई उपलब्ध गराउनुपर्ने हुन्थ्यो । लामो समयसम्म औषधि ठेकेदार कम्पनीले ल्याउन नसकेपछि अस्पतालले १।७५ पैसामा खरिद प्रक्रिया सुरु गरेको थियो । सो फार्मेसीलाई सम्झौता भए भन्दा बढीको मूल्य तिर्न लगाइएको छ । यस फार्मेसीले २११ प्रकारका औषधि ल्याउने सम्झौतामा उल्लेख छ ।

अस्पतालका फार्मेसीमा औषधि ल्याउनका लागि विभिन्न १० कम्पनीले ठेक्का सम्झौता गरेका थिए । विसं २०७७ साल माघमा एक वर्षका लागि औषधि ल्याउनका लागि ती सप्लायर्ससँग सम्झौता गरिएको हो । सर्जिकल सामानतर्फ छ सप्लायर्ससँग सम्झौता भएको थियो ।



प्रतिक्रिया दिनुहोस !