प्रधानाध्यापक र शिक्षिकाको निधनमा बिद्यालय बन्द
काठमाडौं। आफैले चलाएको बोलेरो पल्टिँदा काभ्रेमा एक प्रधानाध्यापकको निधन भएको छ । गएराति बोलेरो पल्टिँदा घाईते भएका चौरीदेउराली गाउँपालिका वडा नम्बर ४ मा रहेको सरस्वती माध्यामिक विद्यालय छोडेका प्रधानाध्यापक कमल श्रेष्ठको उपचारको क्रममा निधन भएको हो ।
प्रहरीका अनुसार प्रधानाध्यापक श्रेष्ठले हिजो दिउँसो ३ बजेतिर दोलालघाटबाट सामान लिएर आफ्नो घरतर्फ जाँदै गरेको बा २१ च ९२१० नम्बरको बोलेरो बिचबाटोमै दुर्घटनामा परेको हो । बोलेरो भुम्लु गाउँपालिकाको वडा नम्बर ५ को जामुने खोला नजिक दुर्घटनामा परेको थियो ।
बोलेरोमा प्रधानाध्यापक श्रेष्ठमात्रै सवार थिए । ४९ वर्षीय प्रधानाध्यापक श्रेष्ठको उपचारको क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
यस्तै, मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको भानुभक्त मेमोरियल सेकेन्डरी स्कुलमा कार्यरत शिक्षिका बिमला राईको बिहिबार बिहान मृत्यु भएको हो । शिक्षिका राईको मृत्यु भएपछि बिहिबार र शुक्रबार २ दिन शोकमा बिद्यालय बन्द भएको बिद्यालय प्रशासनले जनाएको छ ।
विगत १६ वर्ष देखि सो स्कुलमा बालबालिकाको सिकाइमा ब्रान्ड मिसको रुपमा रहेकी राईको बिहान २ बजे असामयिक निधन भएको बिद्यालयका शिक्षकले जानकारी दिए ।