मेलम्ची खानेपानी चैत अन्तिमसम्म राजधानी पुग्ने
सिन्धुपाल्चोक । राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको काम चैतसम्म सकिने भएको छ ।
गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भएको आयोजना चैतअघि नसकिने भएको छ ।
विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिडिइ राजेन्द्र पन्तले जानकारी दिए ।
जर्मनीबाट आएका चारजना प्राविधिकले आयोजनाको निरीक्षणका साथै डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन गरी सकेको हुँदा अन्तिम प्रतिवेदन प्राप्त हुन बाँकी रहेको बताए ।
प्राप्त प्रतिवेदनलाई नेपाली प्राविधिक र ठेकेदार कम्पनीबीच छलफलपछि मात्र सुरुङमा पानी राखिने कार्यक्रम छ । पानी राखेपछि पनि दुई महिनाको समय लाग्ने र सबै कुरामा सन्तोषजनक देखिएपछि मात्र राजधानी पठाइने भएकाले चैतसम्मको समय लाग्ने सूचना अधिकारी पन्तले बताए ।
गत असारमा फुटेका दुई वटा ढोकालाई भारतीय कम्पनीबाट जडान भइसकेको छ । त्योसमेत जोड्दा सुरुङको ९९ प्रतिशत काम सम्पन्न भएको छ ।
हेलम्बुको अम्बाथानस्थित मुहानमा हेडबक्र्स (बाँध)को काम भने ९० प्रतिशत मात्र सम्पन्न भएको छ । बाँधको साथै पुलसमेत बनाउनुपर्ने भएकाले समय लाग्ने आयोजनाले जनाएको छ ।
एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा करिब रु ३३ अर्ब लाग्ने आयोजनाको जटिल मानिने २७ किलोमिटर सुरुङ तीन वर्षअघि सम्पन्न भइसकेको छ ।
दैनिक १७ करोड लिटर पानी राजधानी पुर्याईने उक्त आयोजना पटकपटक पछि धकेलिँदै विभिन्न व्यवधान पार गरी अब भने सम्पन्नको अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको दोस्रो चरणको दैनिक १७ करोड लिटरको लार्केको काम पनि अघि बढाइएको आयोजनाले जनाएको छ । दैनिक १७ करोड लिटरको तेस्रो चरणको माङ्ग्रीको काम सम्पन्न भएपछि राजधानीमा दैनिक ५४ करोड लिटर पानी पुर्याइने लक्ष्य रहेको छ ।