कांग्रेसमा मन्त्रीको भागबण्डा : काे-काे हाेलान् नँया मन्त्रीहरू ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरुले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ भनेको धेरै भयो । तर असार २९ गते ४ जना मन्त्री र त्यसपछि एक राज्यमन्त्रीसहित भदौ ६ गते एक मन्त्री बाहेक देउवाले आफ्नो मन्त्रिमण्डलमा सदस्य थप्न सकेका छैनन् ।सोमबार सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिएको छ । मंगलबार (आज) नै मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि मन्त्रिहरुको नाम नटुंगिएको कारण विस्तारको काम आजका लागि रोकिएको छ ।
प्रधानमन्त्री देउवाले सबै दलहरुसँग मन्त्रीहरुको नाम मागिसकेका छन् । तर देउवाले नेतृत्व गरेको कांग्रेसमा भने अझै मन्त्रीहरुको नाम टुगिंन सकेको छैन । यसअघि नै ज्ञानेन्द्र बहादुर कार्कीलाई कानुन, बालकृष्ण खाँडलाई गृह, डा. नारायण खड्कलाई परराष्ट्र र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । तर बाँकी रहेको मन्त्रीहरुमा भने दिलेन्द्रप्रसाद बढु, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, उमाकान्त चौधरी लगायतको नाम चर्चामा रहेको छ । देउवा गुटबाट बढु मन्त्री बन्ने देखिन्छ भने कोइरालाई र पौडेल पक्षबाट सुजाता र रिजालको नाम अघि छ । त्यसैगरी सिटौला पक्षबाट चौधरीको नाम अघि सरेको बताइन्छ । सिटौला समूहबाट भने पूर्व स्वास्थ्यमन्त्री समेत भइसकेका कांग्रेस युवा नेता गगन थापाको नाम समेत चर्चामा रहेको छ ।
उपप्रधानमन्त्री समेत भइसकेकी सुजाताले परराष्ट्र मन्त्रालय ताकेकोमा देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाएसँगै त्यो बाटो टुंगिएको छ । गुटगत भागबन्डा मिलाउँदा कोइराला वा पौडेल पक्षबाट एक जना अघि बढ्ने कांग्रेसका एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार कोइराला परिवारबाटै भए सुजाता पक्का तर त्यसो हुन नसकेमा विकल्पमा मिनेन्द्रलाई मन्त्री बनाउन लागिएको उनको दाबी रहेको छ ।