२० बैशाख २०८१, बिहीबार

मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री देउवा,काे-काे हाेलान् नँया मन्त्रीहरू ?



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । उनले मंगलबार मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् ।

सोमबार दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् ।

अध्यादेश निष्क्रिय नभइ सरकार बिस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा असन्तुष्टी बढेर पार्टी नै विभाजन हुन सक्ने भय दलहरुमा थियो ।

सरकारले केही समयअघि माधव कुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनका लागि सहज बनाउन अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्था गरिएको थियो।

सोही अध्यादेशका आधारमा नेकपा (एमाले) विभाजन भएर नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भइसकेका छन् ।

नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएर प्रधानमन्त्री देउवालाई बुझाएको हो ।

एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिश भएको छ।

सरकार गठन भएको दुई महीना नाघिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। एकीकृत समाजवादीकै लागि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको नेताहरूले बताउँदै आएका थिए।



प्रतिक्रिया दिनुहोस !