विश्वभर कोरोना संक्रमणका कारण थप ९ हजारभन्दा धेरैको मृत्यु
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट नौ हजार ३४० जना संक्रमितले ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शनिबार गत २४ घण्टाभित्र विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ३४ हजार ३५६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१७ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड ४३ लाख ४९ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कूल संक्रमितमध्ये पाँच करोड ९६ लाख १८ हजार ४३६ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २८ लाख ९६ हजार ७३२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ५६ हजार ४०१ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप दुई हजार ८५ जनाको मृत्यु भएको छ।
त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९५ हजार ४४१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४९ हजार २०५ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।
कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २५ हजार ८०७, बेलायतमा ७४ हजार १२५, इटलीमा ७४ हजार ६२१, फ्रान्समा ६४ हजार ७६५, स्पेनमा ५० हजार ८३७, इरानमा ५५ हजार ३३७, अर्जेन्टिनामा ४३ हजार ३१९, कोलम्बियामा ४३ हजार ४९५ तथा रसियामा ५७ हजार ५५५ जनाको मृत्यु भएको तथ्यांक छ।