६ जेष्ठ २०८१, आईतवार

मेथीको साग सेवन गर्नु भएको छ ? यस्तो छ मेथी सेवन गर्नुका फाइदाहरु:



एजेन्सी। हरियो सागसब्जी स्वास्थ्यका दृष्ट्रिले हेर्ने हो भने, स्वस्थ रहनका लागि एकदमै आवश्यक छ ।

हिजोआज हरियो सागसब्जीले बजार भरिभराउ छ । रायो, चम्सुर, पालुङ्गो लगायतका अनेकौ सागसब्जीले बजार भरीभराउ छ । सागसब्जी जति स्वादिलो हुन्छ, यसमा रहेको पौष्टिक तत्वले शरीरलाई त्यति नै पोषण प्रदान गर्छ ।

आज हामी यहाँ चर्चा गर्दैछौं मेथीको सागको बारेमा । यसले शरीरलाई अनेकौं समस्याबाट लड्न सक्ने शक्ति दिन्छ । जाडो याममा चिसोका कारण धेरैलाई कब्जियत, ग्यास्ट्रिक लगायत पेटसम्बन्धी समस्या हुने गर्छ । मेथीको हरियो साग खानाले पाचन तन्त्रले सुचारु रुपमा काम गर्छ र कब्जियत, ग्यास्ट्रिक लगायतका समस्याबाट मुक्ति दिलाउँछ । मेथीको साग खानाले जोर्नीको दुखाईसमेत कम हुन्छ । त्यसैले त, पहिले पहिलेका मानिसहरु जाडो सुरु हुन लाग्दा मेथीको साग तथा भिजाएको मेथीलाई तारेर खाने गर्थे ।

अधिकांश बालबालिकामा पेटमा जुका वा किरा पर्ने आम समस्या हो । किरा परेमा पनि मेथीको सेवन प्रभावकारी मानिन्छ । मेथीको पत्तिलाई पिसेर त्यसबाट निकालिएको रसलाई प्रत्येक दिन सेवन गरेमा पेटको किराको समस्या कम हुने गर्छ । मेथीले चिसो लाग्नबाट शरिरलाई जोगाउँछ । प्रत्येक दिन यसलाई कुनै न कुनै विधिबाट सेवन गर्नाले चिसो लाग्दैन । र, चिसोका कारण हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ । मधुमेहका बिरामीका लागि पनि मेथी निकै फाइदाजनक मानिन्छ । प्रत्येक दिन मेथीको पत्ताको रस निकालेर पिएर यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ । अनुहारको सुन्दरता बढाउन पनि मेथी निकै लाभदायक मानिन्छ । मेथीलाई पिसेर लगाउनाले अनुहार चमकदार र कसिलो हुन्छ । साथै, यसले छाला नरम बनाउने हुँदा सुख्खा छाला भएका व्यक्तिहरुका लागि पनि मेथी निकै उपयोगी मानिन्छ ।

मेथीको पत्तामा प्याज हालेर खाएमा उच्च रक्तचापको समस्या कम हुने गर्छ भने न्यून रक्तचाप भएका व्यक्तिका लागि मेथी मिसाइएको तरकारी निकै लाभदायक मानिन्छ । नियमित रुपमा मेथीको सेवनले मुटुसम्बन्धी समस्या कम गर्न मद्दत गर्छ । यसले हृदयघातको सम्भावनालाई न्यून बनाई शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ । नियमित रुपमा मेथीको सेवनले तौल नियन्त्रित गर्न समेत मद्दत गर्छ । र, शरीरमा जमेको बोसो क्रमिक रुपमा कम हुँदै जान्छ ।बारम्बार पिसाब लागेमा मेथीको पत्ताको रसलाई नियमित रुपमा सेवन गरेमा यो समस्या तुरुन्तै कम हुने गर्छ ।

यीनै हुन् मेथीको साग सेवन गर्नुका फाइदाहरु । आउनुस् यसका फाइदा पढौं, स्वस्थ बनौं ।



प्रतिक्रिया दिनुहोस !