पत्रकार चक्रपाणि नेपालको निधन
काठमाडौं । पत्रकार चक्रपाणि नेपालको ७३ वर्षका उमेरमा निधन भएको छ । रक्तनलीसम्बन्धी रोग र मधुमेहबाट ग्रसित नेपालको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको छ ।
सङ्खुवासभाको आँखीभुइँ–५ मा विसं २००४ मा जन्मनुभएका नेपाल केही समयअघिसम्म पनि ‘नेपालीपत्र’ साप्ताहिकमा स्तम्भकार थिए।
युवाकालमा धेरै लामो समय नेपालको भूमिगत वामपन्थी आन्दोलनसँंग जोडिएर पत्रकारितामा हाम फालेका नेपाल पछिल्लो समय पनि वाम आन्दोलनले सही दिशा लिइछाड्नेमा आशावादी थिए।
उनले कहिल्यै नेकपाको मूल धारभन्दा आफूलाई टाढा राख्ने कोशिश गरेको भने देखिएन। उनले २०७२ मा प्रेस काउन्सिल नेपालबाट प्रेस काउन्सिल पत्रकारिता पुरस्कार र नेपाल पत्रकार महासङ्घबाट २०७३ प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए।
उनका निकट मित्र कवि तथा पत्रकार रेशम विरहीका अनुसार नेपालले २०४७ सालअघि शिक्षक तथा तत्कालीन नेकपा (माले)मा सङ्गठित भएर धादिङ जिल्लामा काम गरेका थिए।
उनी नेपालका कुनाकाप्चा पुगेर नेपाली समाजका दुःखसुखबारे प्रत्यक्ष जानकारी लिएर रिपोर्ट तयार गर्थे। यस क्रममा उनले नेपालका दुर्गम पहाडी र हिमाली जिल्लाको भ्रमण गरेका थिए।
उनले रेशम विरहीका सम्पादनमा ललितपुरबाट २०४८ सालमा प्रकाशित ‘अभिनन्दन’ दैनिकमा रिपोर्टिङ गरेका थिए।
त्यसपछि ५० सालको आसपासमा विरहीकै सम्पादनमा काठमाडौंँबाट प्रकाशित ‘समानान्तर’ दैनिकमा पनि उनले काम गरे। खोजी पत्रकारितामा उनको विशेष चासो थियो।
उनले आफूले गरेका रिपोर्टिङ र लेखेका स्तम्भ छनोट गरेर २०७४ मा ‘नागबेली’ नामक पुस्तक प्रकाशन गरेका थिए।
विरहीका अनुसार केही वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वास्थ्योपचारका लागि प्रधानमन्त्री कोषबाट रु चार लाख सहायता दिएका थिए।