१८ मंसिर २०८१, मंगलवार

प्रकाश सपूत : जीवनका केहि रहर लाग्दा पलहरु



एजेन्सी। औसत मान्छेको चोलामा यस्तो स्थिति रहरलाग्दो हुन्छ, जब सिर्जना र श्रमले एक अटुट लय बनाउँछ । अनि त्यही लयमा जीवन कथानक धुन बनेर गुञ्जन्छ । प्रकाश सपूतको हकमा आज यस्तै भइरहेको छ ।

चार वर्षअघि उनीसँग के थिएन न प्रसिद्धि, न वैभव ।

उनी गरीब माथि दलित थिए। नियतिको यो थिचोमिचोलाई उनले धैर्यपूर्वक सहेनन् मात्र, त्यसका अनुभूतिहरूलाई जतनसाथ सँगाल्दै गए । त्यही अनुभूतिहरू आज उनका लागि सिर्जनाका स्रोत बनेका छन् ।

उनले आज जति पनि संगीत-रचना गरिरेका छन्, त्यो सबै सपुतका जीवन-भोगाइका प्रतिबिम्ब हुन् । हिजो भोगेका सुख-दुःखलाई सपुत आज आफ्नो रचना मार्फत व्यक्त गरिरहेका छन् ।

गाउँघरका मान्छेहरू भेला भएर रेडियो सुन्ने, अर्काको घरमा लुकेर टिभी हेर्ने जमानामा हुर्किएका हुन् सपुत । सपुतका पालामा रेडियो आयो, एफएम आयो । टेलिभिजन आयो । ब्ल्याक एन्ड हृवाइट टेलिभिजनमा रंगीन पेपर राखेर हेर्नुपर्ने । हिरो-हिरोइनको पोस्टकार्ड टाँस्ने, शुभकामना आदानप्रदान गर्नुपर्ने । भाँती पुर्‍याएर चिठी लेख्नुपर्ने । भित्ते(पत्रिकाको चलन चल्यो । अक्षरहरू खिप्न थालियो । पहिलो पटक गाउँमा गाडी कुदेको हेरेर रमाउने, एक घण्टाको बाटो हिंडेर डोजरले बाटो खनेको हेर्न काम समेत गरे सपुतले ।

समाजका अवयवसँग यति अभिन्न रूपमा जोडिएका कारण उनको संगीत रचनामा रैथाने स्वाद भेटिन्छ । सफलताको परिसूचकले मात्र होइन, सिर्जनाको गुणवत्ताले पनि उनलाई खास बनाएको छ ।

‘बोल माया’ देखि ‘कुरा बुझ्नु पर्च’ सम्म आइपुग्दा के देखिन्छ भने, उनले लहडमा गीत मात्र गाइरहेका छैनन् । एक विशिष्ट शैलीको संगीत-रचना गरिरहेका छन् । त्यसमा लालित्य पोतेर चोटिलो ढंगले सामाजिक मुद्दा छेडिरहेका छन् ।

गाउँको सबैभन्दा माथिल्लो भागमा क्षेत्री बाहुन बस्ने । मध्य भागमा मगर । अनि सबैभन्दा फेदीमा दलितहरू । त्यहाँ स्पष्ट तीन तह थियो । ‘हामीलाई जन्मजात अभ्यस्त गराइयो कि हामी तल्लो जात हौं, हामीले छोएको मगरले खाँदैनन्, बाहुनहरूले खाँदैनन् । उनीहरूको मूल ढोका हाम्रो निम्ति खुला छैन’ प्रकाश सुनाउँछन् ।

गरीबी कतिसम्म निर्दयी हुन्छ भने यसले एउटा परिवारलाई एकसाथ बस्ने र खाने छुट पनि दिंदैन । गरीबीले लखेटेपछि बुवा विदेशिए । १८ वर्षको किशोरवयमा उनी काम खोज्दै भारत पसे । त्यसपछि मलेशिया । उमेरले ५० वर्ष टेकेपछि मात्र उनले सन्तोषको सास फेर्न पाए । वैदेशिक रोजगारीबाट विश्राम पाए ।

गरीबी थियो । अभाव थियो । दुःख थियो । तर, जीवनको त्यो अँध्यारो रंगमा उनी सप्तरंगी सपना सजाउँथे । नाचगान गर्नु, नक्कल पार्नु, ख्यालठट्टा गर्नु उनको मूल स्वभाव भइदियो । गाउँघरमा कुनै भोज-भतेर, बिहे कार्जे भएमा को नाच्ने ? कसले गाउने ?

उनलाई हिरो बन्न मन लाग्थ्यो । घरको भित्तामा हिरोको पोस्टर टाँस्थे । टाउकोमा रुमाल बाँध्थे । हिरोको नक्कल गर्थे । यसले उनलाई विस्तारै कलाकारितामा डोर्‍याउँदै लग्यो ।

पछि उनी बाग्लुङको स्थानीय ‘धौलागिरी एफएम’मा कार्यक्रम चलाउन थाले । त्यहाँ उनले चलाउने कार्यक्रम थियो, जस्ट फर यु । त्यसमा उनी आफैं नाटक लेख्थे, प्रस्तुत गर्थे । मिक्सिङ गर्ने, रेकर्डिङ गर्ने सबै काम उनी आफैं गर्थे ।

सोही बखतको एउटा घटनाले उनलाई बारम्बार कोट्याउँछ । उनी सुनाउँछन्, ‘त्यसबेला एउटा दलित र गैर दलित जोडीले भीरबाट हाम फालेर आत्महत्या गरे । दलित केटी र श्रेष्ठ थरका केटाको प्रेमलाई उनीहरूका परिवारले अस्वीकार गरेपछि आत्महत्या गरेका रहेछन् । यही सन्दर्भलाई जोडेर आत्महत्याअघि उनीहरू कस्तो मनोदशामा गुज्रिए होलान् भन्ने मनोवाद लेखें । त्यसलाई नाटकमा उतारे । त्यो निकै चर्चामा आयो। अहिले पनि कतिपयको मोबाइलमा यो नाटकको अडियो सुरक्षित होला ।’

रेडियो प्रस्तोताको रूपमा उनी स्थानीय माझ चिनिए । यसले उनमा नामको भोक अरू जगाइदियो । तर, रहरको फेरो समाएर उड्ने कसरी ? बाध्यताको भारीले जीवन जो थिचिरहेको छ ।

विदेशमा हाड, छाला घोटेपछि बुवा घर फर्किए । अब परिवारको जिम्मेवारी प्रकाशको काँधमा आइपर्‍यो । के गर्ने ? कहाँ जाने ? बाटोहरू साँघुरो थियो । आखिरमा उनले पनि त्यही गर्नुपर्ने भयो, जुन बुवाले गरेका थिए । अर्थात् प्रकाश पनि कतार जनुपर्ने भयो ।

पासपोर्ट बनाए । बाटो खर्च बोकेर काठमाडौं हिंडे । अनि सुरक्षा गार्डको तालिम लिए, २५ दिनको । तालिमपछि अन्तर्वार्ताको पालो आयो । अन्तर्वार्ताका लागि आएका एक अरबीले अंग्रेजीमा भने, ‘तिमी धेरै सानो भयौ ।’ उनी असफल ठहरिए । प्रकाशको लागि यो खुशीको कुरो थियो ।

प्रकाशसँग त्यसबेला गोजीमा पाँच हजार रुपैयाँ थियो, सर-सापट गरेको । १५ सय रुपैयाँ आउ-जाउमा खर्च भयो । बाँकी पैसाले उनले पुस्तकहरू किने, छानीछानी । अनि घर फर्किए ।

तर, घरमा गएर के गर्ने, जीवन चलाउने कुनै मेलोमेसो छैन ।

उनी पुनः काठमाडौं आए । एउटा होटलमा डेरा जमाए । काम खोज्न थाले । पैसा रित्तिंदै गयो । काम पाउने छाँट छैन । गाउँकै एक साथीको कोठा थियो, उनी त्यहीं बस्ने निधो गरे । तर, साथीले अर्को साथी लिएर बस्न थालेछन् ।

होटलको बास लम्बियो । चिनेजानेकै साथीको होटल थियो । त्यहाँ उनले होटलको काममा सघाउनुपर्ने भयो । उनले खाना दिने, जुठो भाँडावर्तन उठाउने काम गरे ।

संयोगले उनले एउटा काम पाए, गामबेंसी दोहोरीमा । त्यहाँ तलब थोरै तर, टिप्स पाइने । राम्रो त के भइदियो भने उनको महीनापिच्छे तलब बढ्दै गयो ।

गामबेंसी दोहोरीको शाखा खुल्ने भयो दुबईमा । उनी दुबई पुगे । तीन महीनासम्म गीत गाएपछि उनी नेपाल फर्किए । बिहे गरे । फेरि दुबई गए । तर, बिहे गर्नासाथ विदेशिनु पर्दा उनी खिन्न थिए । उनी विदेशमा टिक्न सकेनन् । घर फर्किए ।

फेरि उही दुःख । उही अभाव । उही संघर्ष । भाग्यवश भेटिए, पृथ्वी थकाली । उनी प्रकाशका लागि देवदूत समान भए । प्रकाशलाई उनले ‘पृथ्वी इन्टरटेनमेन्ट’मा सम्मिलित गराए । पृथ्वी थकाली एकदमै मनकारी । उनको साथ लागेपछि प्रकाशलाई सानोतिनो खर्चको अभाव भएन ।

यतिबेलासम्म उनले केही गीत रेकर्ड गराइसकेका थिए । एकाध गीत राम्रैसँग चलेको थियो । यसैबीच उनले र्‍याप ब्याटलको अवधारणा सोचे । यो दोहोरीकै प्रारुपमा थियो । यसमा पनि दोहोरीमा जस्तो सवाल जवाफ हुन्थ्यो । उनले दोहोरी र ब्याटलको फ्युजन गरेर गीत निकाले ।

अपेक्षाकृत यो गीत रुचाइयो । त्यसपछि उनले ‘बोल माया’ तयार गरे । यो त्यही बिन्दु थियो, जहाँबाट उनले नेपाली संगीतमा लामो छलाङ मारे । सबै सामु छोटो समयमा नै चर्चामा आउन सफल भए ।

 

 

 



प्रतिक्रिया दिनुहोस !