३० कार्तिक २०८१, शुक्रबार

खुल्यो,दसैँको मुखमा विद्यालय शिक्षा कि शुल्क असुली



काठमाडौं। दसैँको मुखमा देशभरका केही विद्यालयमा भौतिक उपस्थितिमै अध्ययन सुरु गर्न थालिएको छ । केही विद्यालय खुलिसकेका छन् भने केही खुल्ने प्रक्रियामा छन् । कोरोना संक्रमणका कारण लामो समय बन्द भएका विद्यालय करिब तीन साताका लागि खुल्न लागेका हुन् ।

बिहीबार बसेको बैठकले विद्यालय खोल्ने मापदण्ड तयार पार्न एउटा समिति गठन गरेको छ, जसले बुझाउने प्रतिवेदनमाथि असोज ४ गते बस्ने बैठकमा छलफल हुने छ ।

तीन सातापछि हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैँ भित्रिँदैछ । असोज २१ गते घटस्थापना परेको छ । तर, दसैँ बिदा सुरु हुनु करिब तीन साताअघि देशभरका विद्यालयहरुमा भौतिक उपस्थितिमै पढाइ सुरु गर्ने निर्णयलाई विभिन्न कोणबाट हेर्न थालिएको छ ।

जनस्वास्थ्य विज्ञहरुले कोरोनाको तेस्रो लहर असोजको तेस्रो सातादेखि आउन सक्ने चेतावनी यसअघि नै दिइसकेका छन् । उनीहरुले कोरोनाको तेस्रो लहरबाट बालबालिका बढी प्रभावित हुन सक्ने अनुमान गरिसकेका छन् ।

यस्तो परिस्थितिका बीच भौतिक उपस्थितिमै विद्यालयमा पढाइ सञ्चालन गर्ने निर्णयका पछाडि पाठ्यक्रम पूरा गर्ने सोचले हो कि विद्यालयका लागि शुल्क असुलीलाई प्राथमिकता दिइएको हो भन्नेबारे बहस हुन थालेको छ ।

 



प्रतिक्रिया दिनुहोस !