९ मंसिर २०८१, आईतवार

अत्यधिक भीड हुन थालेपछि न्यूरोडको ‘अम्ब्रेला स्ट्रीट’ बन्द गरिँदै



काठमाडौं। न्यूरोडको संकटा क्षेत्रमा बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ (छाता सडक) बन्द गरिने भएको छ। मानिसहरूको चाप थेग्न नसकेपछि आइतबारदेखि संकटा क्षेत्रको सडकमाथि राखिएका छाता हटाउन लागिएकोसंकटा क्लबमा सचिव आशिषमान सिंहले जानकारी दिए।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको बजार व्यवयासलाई प्रचारप्रसारका लागि भन्दै त्यस क्षेत्रका स्थानीय, व्यापारी तथा संकटा क्लबले सडकमाथि छाता राखेका थिए। तर, अवलोकन गर्न आउने मानिसको भीड थेग्न सक्ने अवस्था नरहेपछि हटाउने निर्णयमा पुगिएको हो ।

दैनिक २० हजार जनाभन्दा बढीले त्यस क्षेत्रको अवलोकन गर्दै आएका छन्। शनिबारको दिन झन् बढी आउने गरेका छन्।

“व्यापारीहरू मिलेर सडकमाथि छाता राखेका थियौं। यो त भाइरल नै बन्यो। अहिले टिकटक बनाउने, फोटो खिच्ने तथा भिडिओ बनाउनेहरू यतिधेरै आए कि हामीले व्यवस्थापन नै गर्न सक्ने अवस्था भएको सचिव सिंहले बताए ।

अत्यधिक भीड हुन थालेपछि हटाउन लागिएको छाता कोरोना महामारीको अवस्था सहज भएपछि फेरि राखिने उनको भनाइ छ। अब आइतबारदेखि सडकमाथि राखिएका छाता हटाइने उनले बताए। अहिलेसम्म १० लाखभन्दा बढीले अवलोकन गरिसकेको अम्ब्रेला स्ट्रीट महामारी सहज भएपछि नयाँ योजनासहित राखिने सचिव सिंहले बताए।

“हामीले त यसरी भीड होला भन्ने सोचेका थिएनौं। अहिले व्यापार पनि थिएन। त्यही भएर लौ यस्तो गरौँ न भनेर छाता राखेका थियौं। यो त पूरै भाइरल भएछ,” उनले भने।



प्रतिक्रिया दिनुहोस !