आज पनि हुन सकेन कुलमान नियुक्ति विरुद्धको सुनुवाइ
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्धको रिटमा आज पनि सुनुवाइ हुन सकेन । घिसिङको नियुक्ति विरुद्ध पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबराको इजलाशमा परेको थियो ।
प्रधानन्यायाधीश राणाको व्यस्तताका कारण आज सुनुवाइ गर्न नभ्याइएको सर्वोच्चले जनाएको छ । अर्को पेशी २७ गते आइतवारको लागि तोकिएको छ । यसअघि भदौ ८ गते सर्वोच्चले कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निवेदनमा माग गरेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै नियुक्तिसम्बन्धी फाइल पेस गर्न भने आदेश दिएको थियो ।
आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्त गरे पनि अहिले गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले साउन ३२ गते सर्वोच्चमा निवेदन दिएका थिए। निवेदनमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाएर आफूलाई पुनर्बहाली गर्न शाक्यले माग गरेका थिए ।