९ मंसिर २०८१, आईतवार

देउवा निकट रहेका श्रेष्ठले गरे, कांग्रेस सभापतिमा लड्ने घोषणा



नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टी सभापति पदमा लड्ने घोषणा गरेका छन्।

गृहजिल्ला स्याङ्जाका अगुवा नेता र कार्यकर्ता उपस्थित भेलाबाट श्रेष्ठले औपचारिक रूपमा १४ औं महाधिवेशनमा सभापति लड्ने घोषणा गरेका छन्।

बुधबार पार्टी कार्यालयमा भएको कार्यक्रमबाट सभापतिमा उठ्ने औपचारिक घोषणा गरेका थिए । श्रेष्ठले सभापतिमा उठ्ने तयारी पहिलेदेखि नै गरेका थिए । स्याङ्जा आए पश्चात उनले अनौपचारिक रुपमा घोषणा गरेका हुन् ।

श्रेष्ठ लामो समयदेखि सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। देउवा कांग्रेस प्रजातान्त्रिक सभापति हुँदा श्रेष्ठले कार्यबहाक सभापति भएर पनि काम गरेका थिए। लामो समयदेखि सहयोग गरिरहेका श्रेष्ठलाई नै सभापति देउवाले संगठन विभाग प्रमुख मनोनित गरेका थिए।

देउवाका निकट रहेका श्रेष्ठ र उपसभापति विमलेन्द्र निधि सभापतिमा लड्ने बताइसकेका छन्। यसले देउवालाई फेरि सभापति जित्नका लागि अप्ठेरो पर्ने देखिँदै छ।

१३ औं महाधिवेशनमा श्रेष्ठ र निधि दुबैले देउवा नै सभापतिको उम्मेदवारका रूपमा समर्थन गरेका थिए। तर यसपटक श्रेष्ठ र निधिले सभापतिमा देउवालाई साथ नदिने अवस्था देखिएका छन्।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आफू नै एक कार्यकाल सभापति उठ्ने पक्षमा छन्। देउवाले आफू निकट रहेकासंग फेरि आँफै सभापतिमा उठ्ने बताए पछि देउवालाई लामो समयदेखि साथ दिँदै आएका व्यक्तिहरू नै धमाधम सभापतिका पदका लागि उठ्ने घोषणा गरिरहेका छन्।

गोपालमान देउवाकै सहयोगमा आफू सभापति उम्मेदवार उठ्न लागेको दाबी गर्छन्।

श्रेष्ठका अनुसार अब देउवा फेरि सभापति उम्मेदवार बन्नतिर लाग्न हुन्न। बरू प्रधानमन्त्री भइरहेर जनहित अनुसारका काम गर्नुपर्छ भन्ने उनको भनाईँ छ ।



प्रतिक्रिया दिनुहोस !