माओवादीको भागमा कुन-कुन मन्त्रालय, गैर सांसदले मन्त्री इच्छा गरेपछि प्रचण्ड तनावमा
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा ६ वटा मन्त्रालयमात्रै पाउने भएको छ ।
एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो । संख्या घट्दा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ ।
‘माधवजीहरु पनि सरकारमा सामेल हुने भएपछि स्वतः माओवादी केन्द्रले पाउने मन्त्रालय घटेको छ । तर आकांक्षी भने सबै सांसदहरु देखिएका छन्,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘सांसद मात्रै होइनन्, सांसदभन्दा बाहिरका साथीहरु पनि आकांक्षी देखिएपछि आलोपालो गरी मन्त्री बनाउने कि भन्ने छलफल हिजो पनि भएको थियो ।’