यस्तो छ मन्त्रिपरिषद विस्तारको अन्तिम गृहकार्य, कुन दलबाट को-को मन्त्री बन्दै ? (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगबाट नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाएसँगै अब भने सरकारले गति लिने आंकलन गरिएको छ । दलहरुबीच सत्ता सहकार्यबारे करीब करीब कुरा मिलिसकेको बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिमण्डल विस्तारको टुंगो लगाउनेबारे छलफल गरेका थिए ।
प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई २ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई १ मन्त्रीको कोटा छुट्याएको बुझिएको छ । पौडेल पक्षबाट सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडु मन्त्रीका सम्भावित हुन् ।
सिटौला पक्षबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक मन्त्री बन्ने भएका छन् । देउवा पक्षबाट मीनबहादुर विश्वकर्मा, डा. डिला संग्रौला, उमा रेग्मी दौडधूपमा छन् ।
नेकपा माओवादीबाट २ जना मन्त्री भइसकेकाल अब ४ जना थपिनेछन् । थपिने सम्भावितहरुमा देव गुरुङ्ग, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, अमन लाल मोदी, अञ्जना विशंखे, शशी श्रेष्ठ मध्येबाट छन् ।
नेकपा एसबाट जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कल्याणीकुमार खड्का, धनबहादुर बुढाको सम्भावना बढी छ ।
जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव आफै सरकारको नेतृत्व गरी जाने पक्षमा छन् । तर, राजेन्द्र श्रेष्ठ या महेन्द्र राय यादवले नेतृत्व लिएर जाने सम्भावना पनि छ ।