सप्तकोशीमा पानीको बहाव बढ्यो , अहिलेसम्म कति खोलिए कोसी ब्यारेजका ढोकाहरु ?
काठमाडौँ। पूर्वी पहाडी क्षेत्रमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव उच्च भएसँगै सप्तकोशी आसपासका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
शुक्रबार दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए । पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्य ३१ वटा ढोका खोलिएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पानीको बहाव उच्च भएकाले कोसी आसापासका वासिन्दालाई सर्तक र सुरक्षित रहने निर्देशन गरिसकेको जानकारी दिए । पानीको बहाव उच्च भएपश्चात भारतले कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालेको छ ।