आजबाट तेह्रथुम पावर कम्पनीको आइपीओ खुला
काठमाडौं । आजबाट तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री खुला गरिएको छ ।
भदौ १३ गतेसम्मका लागि कम्पनीले आइपीओ खुला गरेको जनाएको छ । माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।
कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता शेयर निष्काशन गरिसकेको छ ।