७ मंसिर २०८१, शुक्रबार

कन्द्रा नदीमा निर्माणाधीन पुल नौ वर्षमा ६० प्रतिशत मात्र सम्पन्न



कैलाली । कैलालीको भजनी नगरपालिका–३ स्थित कन्द्रा नदीमा पुल निर्माण शुरु भएको नौ वर्ष बितेको छ । नौ वर्ष बिति सक्दा पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बिरुवा लामासाल्पा शेर्पा कम्पनीले ठेक्का लिएको तर नौ वर्ष बित्दासमेत पुल बन्न सकेको छैन ।

चार स्पान र पाँच पिलर भएको पुलको नौ वर्ष बित्दासमेत एउटा स्पान र चार पिलर मात्र निर्माण भएको छ । निर्माण शुरु भएको लामो समयसम्म पनि पुल नबन्दा त्यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या भइरहेको भजनी नगरपालिका–३ का बासिन्दा बताउछन् ।

‘पुल नभएका कारण यहाँका नागरिकलाई नदी तर्न निकै समस्या रहेको छ। नदी तर्न डुङ्गा तर्नुपर्ने बाध्यता रहेको छ । ‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ ।

भजनी नगरपालिकाको वडा नं ५ र ७ का स्थानीयवासीलाई नगरपालिकामा आउन त्यो नदी तर्नैपर्ने हुन्छ । बिमार हुदा,आपतकालीन अवस्थामा र रातिमा आवत जावत निकै समस्या परेका बासिन्दा बताउछन् ।

लामो समयसम्म पुल नबन्दा भजनीको मात्र नभई हुलाकी राजमार्गको पनि गति कम भएको छ । राजमार्ग सञ्चालनमा समस्या भएको छ । यसरी पटक–पटक थपिएको म्यादमा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनुपर्ने स्थानीयको माग छ ।

बिरुवा लामा साल्पा शेर्पा कम्पनीले आफ्नोतर्फबाट कुनै लापरवाही नभएको प्रतिक्रिया दिएको छ ।शुरुमा डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको र पछि साझेदारले काम नगर्दा ढिलाइ भए पनि अहिले काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

कोराना महामारीका कारण केही समस्या आए पनि यस आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न हुने कम्पनीका साइड प्रतिनिधि नगेन्द्र रावत बताए ।



प्रतिक्रिया दिनुहोस !